काठमाडौ । काठमाडौं महानगरका प्रमुख बालेन साह र फ्रान्सका राजदूत जील बुर्बाओबीच शिष्टाचार भेट वार्ता भएको छ ।
उक्त भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणका मुख्य विषयमा कुराकानी भएको थियो । बजेट नीति तथा कार्यक्रमको तयारीमा लागि परेको र फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्द्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको महानगर प्रमुख शाहले बताएका थिए ।
‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ। फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्द्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ।’ प्रमुख शाहले भने ।
भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलियो भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुन सक्ने उल्लेख गरे । भेटका क्रममा राजदूत बुर्बाओले सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफूहरू इच्छुक रहेको बताए।
‘फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धीकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ।’ राजदूत बुर्बाओले भने। त्यसैगरी राजदूत बुर्बाओले प्रमुख साहलाई सहरी केबलकार सञ्चालनसम्बन्धी सोच पत्र समेत प्रदान गरेका थिए।




