देश

सरकारका निर्णयबारे प्रश्न गर्दा भागेर नहिँड्न सांसदलाई रवि लामिछानेको निर्देशन

काठमाडौं । रवि लामिछानेले सरकारका निर्णयमाथि प्रश्न उठाउँदा भाग्ने वा पछि हट्ने प्रवृत्ति नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।

उनका अनुसार सरकारका कदमहरू सोचविचार गरेर नै अघि बढाइने भएकाले त्यसबारे उठ्ने प्रश्नको सामना आत्मविश्वासका साथ गर्नुपर्नेछ । “सरकारले सोचेर, हेरेर र विचार गरेर कदम चालिरहेको छ, त्यसैले प्रश्न आएर भाग्नुपर्ने अवस्था छैन,” उनले भने ।

लामिछानेले कतिपय नीतिगत निर्णय, विशेषगरी अध्यादेशजस्ता विषयमा प्रश्न उठ्न सक्ने भए पनि ती निर्णय जनहितलाई ध्यानमा राखेर छिटो कानुन निर्माण गर्न गरिएको प्रयास भएको बताए । उनले सरकार र राज्य संयन्त्रले देशलाई घाटा हुने वा अस्थिर बनाउने कुनै पनि निर्णय नगर्ने र गर्न नदिने दाबी पनि गरे । उनका अनुसार देश क्रमशः सही दिशातर्फ अघि बढिरहेको छ ।

सभापति लामिछानेले रास्वपाको राजनीतिक उचाइ विभिन्न दलहरूको समर्थन र जनमतका कारण बढेको उल्लेख गर्दै पार्टीले देशको हितविपरीत कुनै काम नगर्ने प्रतिबद्धता दोहोर्‍याए । उनका अनुसार राजनीतिक बहस र आलोचना लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएकाले त्यसलाई सामना गर्दै नीति निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरूलाई आग्रह गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *