काठमाडौं । बराह सहकारी पीडित समन्वय समितिले धरानस्थित बराह बचत तथा ऋण सहकारीमा फसेको बचत रकम फिर्ता गराउन पहल गरिदिन माग गर्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष ज्ञापनपत्र बुझाएको छ । समितिका अध्यक्ष श्यामप्रसाद ढकाल सहितको टोलीले सिंहदरबारस्थित रास्वपाको संसदीय दल कार्यालय पुगेर पार्टीले चुनावअघि गरेको ‘१०० दिनभित्र सहकारी पीडितको रकम फिर्ता’ गराउने प्रतिबद्धता स्मरण गराएको हो ।
सभापति लामिछाने उपस्थित नभएका कारण ज्ञापनपत्र पार्टीका सचेतक कवीन्द्र बुर्लाकोटी लगायत पदाधिकारीमार्फत बुझाइएको पीडित पक्षले जनाएको छ । पीडितहरूले सरकार र सम्बन्धित निकायबाट ठोस पहल नदेखिएको भन्दै संघीय तहमा रहेका राजनीतिक दलको ध्यानाकर्षण गराउन बाध्य भएको बताएका छन् ।
ज्ञापनपत्रमा बराह सहकारीमा ८ देखि १० हजार बचतकर्ताको ११ अर्ब रुपैयाँभन्दा बढी रकम फसेको उल्लेख गरिएको छ । २०७८ सालदेखि सहकारीले बचत फिर्ता गर्न छाडेपछि सर्वसाधारण आर्थिक संकटमा परेको पीडितहरूको भनाइ छ । पीडितहरूले सहकारीका मुख्य सञ्चालक तथा पदाधिकारी फरार रहेकाले उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । केही कर्मचारी पक्राउ परे पनि धरौटीमा छुटेको र मुख्य आरोपी अझै सम्पर्कविहीन रहेको गुनासो उनीहरूको छ ।
धरान उपमहानगरपालिकाले २०७९ सालमै सहकारीलाई संकटग्रस्त घोषणा गरे पनि त्यसपछिको व्यवस्थापन प्रक्रिया प्रभावकारी रूपमा अघि नबढेको पीडितहरूको आरोप छ । यस्तै , सुनसरी जिल्ला अदालत मा बराह सहकारीसँग सम्बन्धित १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना तथा अपचलनको मुद्दा विचाराधीन छ । अभियोगपत्रमा सहकारीका सञ्चालक, विभिन्न कम्पनी तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुर लगाइएको छ ।
अनुसन्धान प्रतिवेदनअनुसार सहकारीसँग जोडिएका विभिन्न कम्पनीमार्फत अर्बौँ रुपैयाँ कारोबार गरिएको र अधिकांश रकम असुल हुन बाँकी रहेको उल्लेख गरिएको छ । बराह सहकारी २०७९ जेठदेखि बन्द अवस्थामा रहेको छ ।





