काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया अघि बढाएको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार सुनुवाइ प्रक्रियाका लागि १० दिनको समय दिइएको छ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधारसहित विद्युतीय वा अन्य कुनै माध्यमबाट उजुरी वा सुझाव दिन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए।उनका अनुसार प्राप्त उजुरीहरू जेठ ५ गते बस्ने समितिको बैठकमा खोलिने र अध्ययन गरिनेछ।
संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र प्रस्तावित व्यक्तिलाई राष्ट्रपतिबाट प्रधानन्यायाधीश पदमा नियुक्त गरिन्छ।
यसअघि बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो।




