कालिकोट। एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति ः फर्किदा दुःखको अन्धकार सदा हटेको छ । उनीको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्न विकले आठ वर्षदेखि उज्यालोसंग साक्षात्कार गर्ने अवसर गुमाएकी थिइन् । उनीले चाडै पुनःआँखाको ज्योति पाउँछु भन्ने कल्पना पनि थिइनन् ।
बाल्यकालमै लागेको चोट (ट्रमा)का कारण दाहिने आँखाको दृष्टि पूर्णरूपमा उनीले गुमाएकी थिइन । अन्यत्रका साहारामा लिनुपर्दा उनीलाई आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँच टाढा र अभिभावकको सीमित उपस्थितिका कारण समयमै उपचार सम्भव हुन सकेको थिएन । उनका बुबा रोजगारीका लागि भारतमा रहने भएकाले परिवारको जिम्मेवारी पनि सहज थिएन । यस्तो अवस्थामा उनी उपचारको आशा नगरी बसिरहेकी थिइन् ।
यही वैशाख १४ देखि १६ गतेसम्म जिल्ला आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरले उनको जीवन नै बदलिदिएको छ । शिविरमा सहभागी भएपछि गरिएको शल्यक्रिया सफल भएसँगै उनीले पुनः उज्यालो संसार देख्न पाएकी छन् । शल्यक्रियापछि उनको अनुहारमा देखिएको खुसी र उत्साहले त्यहाँ उपस्थित सबैलाई भावुक बनाएको थियो । जुम्लामा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरले उनी जस्तै धेरै बिरामीको जीवनमा नयाँ आशा ल्याएको छ ।
उक्त शल्यक्रिया वरिष्ठ नेत्ररोग विशेषज्ञ डा हरि बिक्रम अधिकारीको नेतृत्वमा गरिएको हो । बालिकाको अवस्था जटिल भए पनि सफल शल्यक्रियापछि दृष्टि फर्किनु चिकित्सकीय हिसाबले महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । बालिका र उनका परिवारजनले उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
नेपाल नेत्रज्योति सङ्घ कालिकोटको आयोजना तथा रिड्ली आइ फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविर जुम्लाको चन्दननाथ आँखा अस्पतालमा सम्पन्न भएको हो ।
हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवाश नेपालका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा कुल ५८४ जना बिरामीको आँखा परीक्षण गरिएको थियो भने १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । साथै, शिविरमार्फत आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।
उहाँका अनुसार कर्णालीजस्ता दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिक अझै पनि सामान्य स्वास्थ्य सेवाबाट वञ्चित छन् । विशेषगरी आँखासम्बन्धी रोगका बिरामी आर्थिक अभाव, भौगोलिक विकटता तथा जानकारीको कमीका कारण वर्षौँसम्म उपचार नपाई पीडामा बस्न बाध्य हुने अवस्था छ । यस्ता निःशुल्क शिविरले गाउँघरमै पुगेर सेवा प्रदान गर्दा उपचारको पहुँच नपुगेका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन् ।
नेपाल नेत्रज्योति सङ्घले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित देशभर आफ्नो सञ्जालमार्फत निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । दुर्गम तथा पिछडिएका क्षेत्रलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएका शिविरले अन्धोपन निवारण तथा गुणस्तरीय आँखा सेवाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
सङ्घका अनुसार, स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ ।




