काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ११ अन्तर्गत वंशीघाट क्षेत्रमा रहेका घर–टहरामा डोजर चलाइएको छ। महानगरपालिकाले अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत उक्त क्षेत्रमा डोजर प्रयोग गरी संरचना हटाउन सुरु गरेको हो।
घर–टहरा भत्काउन ट्रकमार्फत करिब आधा दर्जन डोजर बस्तीमा पुर्याइएको थियो। आज वंशीघाटसहित वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ अन्तर्गत सामाखुशी, खाडिपाखा र रानीबारी लगायतका अतिक्रमित क्षेत्रमा पनि डोजर चलाउने तयारी गरिएको छ।
कारबाहीका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली परिचालन गरिएको छ। प्रशासनले अनधिकृत संरचना हटाउने पूर्वसूचना दिन माइकिङसमेत गरेको जनाएको छ। सो सूचना पछि अनामनगरको धोबीखोला आसपासका केही बासिन्दा बिहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेका छन्।
यसअघि वैशाख १२ गतेदेखि काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउन डोजर चलाइएको थियो। बाँकी क्षेत्रहरूमा पनि क्रमशः हटाउने प्रक्रिया अघि बढाइएको महानगर प्रशासनले जनाएको छ।




