देश

श्रमदानबाट सेउती खोलामा फलामे पुल निर्माण

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको जुवाने दोभान नजिकै श्रमदानबाट फलामे पुल निर्माण भइरहेको छ ।

पुल अभावका कारण आवतजावतमा समस्या भोग्दै आएका स्थानीय अहिले सामूहिक श्रमदानमार्फत पुल निर्माणमा जुटेका हुन् ।

यसअघि वर्षायाममा खोलामा पानीको बहाव बढ्दा विद्यार्थी र सर्वसाधारणलाई जोखिमपूर्ण ढङ्गले आवतजावत गर्नुपर्ने बाध्यता थियो । पुला निर्माण भएमा सहज रूपमा आवागमनको सुविधा हुने स्थानीय बताउँछन् ।

स्थानीय जीवन राईले विगतका कठिनाइ स्मरण गर्दै भने, ‘मैले यही खोला मुस्किलले तरेर विद्यालय पढ्न जान्थे पटकपटक खोलाले बगाएको अनुभव अझै सम्झना छ । पहिले पुल निर्माणका लागि धेरै पहल गरेका थियौँ, तर सफल हुन सकेनौँ, अहिले श्रमदानबाट पुल निर्माण भइरहेको देख्दा अत्यन्त खुसी लागेको छ ।’ पुल नहुँदा यहाँ खोलाले बगाएर केही बालबालिकासमेत गुमाउनुपरेका घटना छन् जसले स्थानीयलाई गहिरो पीडा दिएको उनको भनाइ छ ।

बर्खा लागेसँगै बाढीको जोखिम बढ्ने समयमा पुल निर्माण भइरहेको देख्दा हामीलाई राहत महसुस भएको पुल निर्माण संयोजक तथा धरान उपमहानगरपालिका–४ का पूर्व वडाध्यक्ष धनबहादुर राईले बताए ।

पुल निर्माण सम्पन्न भएपछि धरान–४ लाई धरान १३ र १४ सँग जोड्नुका साथै यस क्षेत्रबाट धरानको नारे, दानावारी, हर्दिया, ठाकुरबारी हुँदै धनकुटाको राजारानीसम्म पुग्न सहज हुने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘निर्माणले विशेष गरी स्थानीयस्तरमा उत्पादन हुने कृषिउपजलाई बजारसम्म पु¥याउन महत्त्वपूर्ण टेवा पुग्नेछ । साथै, यहाँका बालबालिकालाई विद्यालय आवतजावत साथै स्थानीयलाई अस्पतालसम्म पुग्न पनि यो पुलले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

वर्षायाममा खोलाको बहाव बढ्दा विद्यार्थीहरू एक किनारमा र अभिभावकहरू लौरोको सहारामा खोला तार्ने अवस्था अत्यन्तै दुःखद् रहेको राईले बताए । उनले भने, ‘त्यो दृश्यले हामीलाई सधैँ दुःखी बनाउँथ्यो । तर अब पुल निर्माणपछि त्यस्तो अवस्था अन्त्य हुनेछ ।’

पुल निर्माणका लागि देशविदेशमा रहेका सहयोगी मनकारी दाताबाट आर्थिक सहयोग प्राप्त भइरहेको र स्थानीयवासीले श्रमदानमार्फत सक्रिय सहभागिता जनाइरहेकाले केही समयमै निर्माण सम्पन्न हुने जनाइएको छ । ‘बर्खा सुरु भयो कति बेला बाढी उर्लेर आउने हो थाहा हुँदैन तर हामी चाँडै यो पूरै सम्पन्न गर्न लागि परेका छौँ’, उनले भने ।

पुल निर्माणका सल्लाहकार दत्त लिम्बूले केही समय अगाडि खानेपानीको पाइप विस्तार गर्ने क्रममा जीर्ण अवस्था बनेको पुलको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम थालिएको बताए ।

यसअघि निर्माण सुरु भए पनि पूर्णताः पाउन नसकेको उक्त पुलप्रति चिन्ता व्यक्त गर्दै स्थानीयस्तरमा श्रमदानबाट पुनर्निर्माण गर्ने योजना बनाएर सोहीअनुसार काम अघि बढाइएको उनले जानकारी दिए ।

‘विशेष गरी वर्षायाममा स्थानीय र बालबालिकाले भोग्नुपरेको जोखिमपूर्ण अवस्थाले आफूहरूलाई भावुक बनाउँछ’, उनले भने, ‘बर्खाको समयमा बालबालिकाको परीक्षा पर्ने भएकाले विद्यार्थी विद्यालय पुग्नैपर्ने बाध्यता हुन्छ, तर खोला तर्न निकै कठिन हुने अवस्था रहँदै आएको थियो । अब त्यो समस्या अन्त्य हुनेछ ।’

स्थानीय तथा बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै करिब ५० मिटर लामो फलामे पुल निर्माण भइरहेको उनको भनाइ छ । पुल निर्माणका लागि आवश्यक फलाम र तारजाली भने विभिन्न दाताबाट सङ्कलित रकमबाट खरिद गरिएको उनले बताए ।

स्थानीय सरस्वती राईले पुल अभावमा धरान बजारसम्म पुग्नसमेत ठूलो कठिनाइ भोग्नुपरेको बताइन् । ‘हिउँदमा भन्दा बर्खामा बढी कृषि उत्पादन हुन्छ, तर उत्पादित वस्तु बजारसम्म पुर्‍याउन निकै समस्या हुने गरेको थियो । अब पुल निर्माणपछि यो समस्या अन्त्य हुनेमा हामी विश्वस्त छौँ’, उनले भनिन् ।

‘वर्षायाममा खोलामा आउने बाढीले आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने र बालबालिकालाई विद्यालय पठाउनसमेत डर लाग्ने अवस्था छ अहिले यो पुल निमार्णको निम्ति हामी आफैँ पनि श्रमदान गरिरहेका छौँ’, उनले भनिन् ।

बर्खामा खोला तर्न समस्या हुने गरेकाले बालबालिकालाई विद्यालय पठाउन पनि सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘असम्भवजस्तो देखिने कुरा पनि श्रमदानबाट असम्भव हुने रहेछ’, उनले भनिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *