देश

सुरक्षण मुद्रण प्रकरणमा विकल पौडेल दम्पत्तिमाथि थप कानुनी घेरा, ६९ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतविरुद्ध करिब ६९ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। राजस्व अनुसन्धान विभागले बुधबार काठमाडौं जिल्ला अदालत बबरमहलमा अभियोगपत्र दर्ता गर्दै उनीहरूमाथि गैरकानुनी आम्दानी लुकाउने तथा शंकास्पद आर्थिक कारोबार गरेको आरोप लगाएको हो।

विभागका अनुसार पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ रुपैयाँ र उनकी पत्नी बस्नेतविरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बिगो दाबी गरिएको छ। दुवै जनाविरुद्ध कुल ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको दाबी पेश गरिएको हो।

राजस्व अनुसन्धान विभागका निर्देशक सचितकुमार वाइवाले दिएको जानकारीअनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतको दफा ३ उपदफा (१) का खण्ड ‘क’, ‘ख’ र ‘ग’ अनुसार कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो।

यसअघि नै विदेशी विनिमय अपचलन तथा अनधिकृत आर्थिक कारोबार गरेको आरोपमा पौडेल दम्पत्तिविरुद्ध ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ बिगो कायम गर्दै २०८१ असोज १४ गते पनि मुद्दा दायर गरिएको थियो। सोही मुद्दाको थप अनुसन्धानका क्रममा अवैध स्रोतबाट आर्जित सम्पत्ति व्यवस्थापन, लुकाउने र रूपान्तरण गर्ने गतिविधि भेटिएको विभागको दाबी छ।

सुरक्षण मुद्रण केन्द्रसँग जोडिएको यो प्रकरण सार्वजनिक निकायमा बसेका व्यक्तिको आर्थिक आचरणमाथि गम्भीर प्रश्न उठाउने घटनाका रूपमा हेरिएको छ। सरकारी पदको प्रभाव प्रयोग गरेर अकुत सम्पत्ति जोडिएको आशंका पुष्टि भएमा यो भ्रष्टाचार र आर्थिक अपराध नियन्त्रणका लागि ठूलो परीक्षण बन्नेछ।

अब अदालतको प्रक्रियाबाट आरोपको सत्यता परीक्षण हुनेछ। तर उच्च पदमा बसेकाहरूको सम्पत्तिको स्रोतबारे राज्य संयन्त्रले कडाइ थालेको सन्देश भने यो मुद्दाले दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *