काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत दलको नेता चयनमा भइरहेको अनावश्यक ढिलाइ र अन्योललाई संसदीय दलको अधिकारमाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै तत्काल प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
खड्काले संसदीय दलका सदस्यहरूलाई यस विषयमा गम्भीर हुन आह्वान गर्दै दलको नेता चयन पार्टीको विधानअनुसार स्वतन्त्र रूपमा अघि बढ्नुपर्ने बताएका छन् । उनका अनुसार केन्द्रीय कार्यसमितिले दलको विधान अनुमोदन गरेपछि सर्वसम्मति वा प्रतिस्पर्धामार्फत नेता चयन गर्ने अधिकार संसदीय दलकै हो ।
उनले यस्तो ढिलाइ र हस्तक्षेप कसैको हितमा नहुने उल्लेख गर्दै समयमै नेता चयन गरी पार्टीको छविमा थप असर पर्न नदिनुपर्ने बताएका छन् । साथै, उनले पार्टी केन्द्रीय नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।




