देश

सहमति नजुटेपछि कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरेको छ । निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा अन्तिम समयमा आएर चुनाव रोकिएको हो ।

निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार नयाँ मिति भने अहिलेसम्म तय गरिएको छैन । दलको नेता सहमतिमा चयन गर्ने प्रयासस्वरूप विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो ।

समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल सदस्य रहेका छन् ।

तर, दलको नेता चयनमा पार्टीभित्र सहमति जुट्न नसकेको बताइएको छ । सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच पनि मतैक्य नजुटेको उल्लेख गरिएको छ ।

सभापति थापाले मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति शर्माले भीष्मराज आङ्देम्बेलाई प्रस्ताव गरेका छन् ।

यसैबीच अर्जुननरसिंह केसीले सहमति नभए प्रतिस्पर्धामा जाने संकेत दिएका छन् । नेतृत्व चयनमा सहमति नजुट्दा आज हुने भनिएको निर्वाचन स्थगित गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *