काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ उपरीक्षक (एसएसपी) दिग्विजय सुवेदी डीआईजी पदमा बढुवाका लागि पहिलो नम्बरमा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले सार्वजनिक गरेको नामावलीमा सुवेदीलाई अग्रस्थानमा राखिएको हो।
सुदूरपश्चिम प्रदेशमा कार्यरत सुवेदी संगठनभित्र अनुशासित, जिम्मेवार र अनुभवी अधिकृतका रूपमा परिचित छन्। विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उनले सुरक्षाको क्षेत्रमा प्रभावकारी नेतृत्व देखाएको बताइन्छ। संगठनको संरचना, कार्यप्रणाली र चुनौतीहरूबारे गहिरो बुझाइ राख्ने अधिकृतका रूपमा उनको छवि स्थापित छ।
सहकर्मीहरूबीच व्यावसायिक दक्षता, निर्णय क्षमता र समन्वयकारी भूमिकाका लागि चिनिएका सुवेदीले सशस्त्र प्रहरी बललाई थप सक्षम र परिणाममुखी बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। उनको नेतृत्वले सुरक्षा व्यवस्थापन, विपद् प्रतिकार्य तथा सीमाक्षेत्रको सुरक्षामा थप प्रभावकारिता ल्याउने विश्वास गरिएको छ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले शुक्रबार सूचना जारी गर्दै साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका ६ पदका लागि नामावली सार्वजनिक गरेको हो।
सिफारिस सूचीमा दिग्विजय सुवेदी पहिलो नम्बरमा रहेका छन्। उनी हाल सुदूरपश्चिम प्रदेशमा कार्यरत छन्। यस्तै नेत्र कार्की, राजेश उप्रेती, माधव पौडेल, किरण बस्नेत र प्रविन कँडेल पनि डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम ज्येष्ठताका आधारमा उनीहरूलाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।
बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा नियम ३८ को उपनियम (३) अनुसार सार्वजनिक जानकारीका लागि विवरण प्रकाशित गरिएको उल्लेख छ।
यस सिफारिसप्रति असन्तुष्टि भए सम्बन्धित एसएसपीहरूले नियम ५५ बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा निवेदन दिन सक्ने व्यवस्था पनि सूचनामा उल्लेख गरिएको छ।