काठमाडौँ।आज विश्व औलो दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । ‘औलो अन्त्य हाम्रो सङ्कल्पः सक्षम छौँ, छैन अब विकल्प’ भन्ने नाराका साथ दिवस मनाउन थालिएको हो ।
औलो एनोफिलिज जातका सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने परजीविको कारण हुने एक प्रकारको सरुवा रोग हो । औलो सङ्क्रमित व्यक्तिको ज्यानै जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।
शिशुहरू, पाँच वर्षमुुनिका बालबालिका, गर्भवती, किशोरी, एचआइभी तथा एड्स सङ्क्रमित व्यक्तिमा सङ्क्रमणको जोखिम बढी हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले बताउनुभयो । औलो सजिलै रोकथाम र उपचार गर्न सकिने भएकाले समयमै उपचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
औलोका लक्षण
ज्वरो आउने, काप छुट्ने, टाउको दुख्ने, असाध्यै थकित महसुस हुने, भ्रमित अवस्था हुने, वेहोस हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिने डा दाहालले जानकारी दिनुभयो । नेपालमा औलो निवारणतर्फ उन्मुख रहेको छ । विगत १० वर्षमा स्थानीय औलोको सङ्ख्या करिब ९० प्रतिशतले कमी आएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा आयातित औलोका बिरामी धेरै रहेका इपिडिमियोलोजी डा दाहालले उल्लेख गर्नुभयो । भारतका उच्च जोखिम क्षेत्रमा हुने र अफ्रिकी देशबाट स्वदेश फर्कंदा धेरै मानिसले आयातित औलो सङ्क्रमण लिए आउने गरेका उहाँको भनाइ छ । उहाँका अनुसार नेपालमा ९७ प्रतिशत औलोका बिरामी विदेशबाट आएका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा ३९ जनामा स्थानीय औलोर र एक हजार १२५ जना आयातित औलो देखिएको डा दाहालले जानकारी दिनुभयो । आव २०८०/८१ मा २४ स्थानीय र ७६७ जना आयातित, आव २०७९/८० मा २४ स्थानीय र ५०९ आयातित औलोका बिरामी देखिएका उहाँले उल्लेख गर्नुभयो ।
शाखा प्रमुख डा दाहालले नेपालमा अहिले औलो जोखिममा केही जिल्ला मात्र रहेका उल्लेख गर्दै सरकारले राष्ट्रिय औलो रणनीतिक योजना (२०२५ देखि २०३०) सम्म सञ्चालन गरेर नेपाललाई औलोमुक्त मुलुक बनाउने योजना अघि सारेको बताउनुभयो । सोही योजनाअनुसार सन् २०२६ सम्म स्थानीय औलोका बिरामीलाई शून्यमा पुर्याउने लक्ष्य राखेको छ ।
उहाँका अनुसार ४२ वटा वडामात्र औलोको उच्च जोखिममा छन् । हालसम्म विश्वमा ४७ देश औलोमुक्त भइसकेका छन् । सन् २००० देखि २०२४ सम्म औलो प्रभावित देशको सङ्ख्या १०८ बाट ८० मा झरेको डा दाहालले जानकारी दिनुभयो । विश्वमा सन् २०२४ सम्म २८ करोड औलाका बिरामी देखिएका थिए । औलाको विश्वव्यापी भारमध्ये ९५ प्रतिशत हिस्सा अफ्रिकी क्षेत्रले ओगटेको तथ्याङ्क इपिडिमियोलोजीले तथा सरुवा रोग महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।




