देश

अपाङ्गमैत्री सरकारी वेबसाइट प्रणाली सुधार तालिम सम्पन्न, डिजिटल सेवा सबैका लागि सहज बनाउने लक्ष्य

काठमाडौँ । अपाङ्गमैत्री सुविधासहित सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएमएस) लाई अद्यावधिक गर्ने उद्देश्यले आयोजित तालिम सम्पन्न भएको छ ।

सूचना प्रविधि विभागले विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीलाई लक्षित गरी तालिम सञ्चालन गरेको हो ।कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी वेबसाइट सुधार र विकासतर्फ यो पहल महत्वपूर्ण रहेको उल्लेख गर्दै सेवा प्रवाहलाई सबै नागरिकका लागि सहज बनाउनुपर्ने बताए ।

सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले शासकीय सुधारसम्बन्धी एक सय दिने कार्ययोजनाअन्तर्गत सरकारी डिजिटल सेवाहरूलाई अपाङ्गता भएका व्यक्ति तथा कम प्राविधिक ज्ञान भएका नागरिकमैत्री बनाउने लक्ष्य रहेको जानकारी दिए ।

विभागका अनुसार अन्तर्राष्ट्रिय ‘वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन (WCAG)’ अनुसार वेबसाइट विकास गरिँदैछ । नयाँ प्रणालीअनुसार सरकारी वेबसाइटहरू किबोर्ड प्रयोगबाट मात्र सञ्चालन गर्न सकिने, स्क्रिन रिडरमैत्री बनाउने तथा अल्ट-टेक्स्ट, स्पष्ट फाराम र नेभिगेसन सुविधा समावेश गरिनेछ ।

यी सुधारले डिजिटल सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *