देश

विद्यार्थी संगठन हटाउने निर्णयप्रति नेविसंघको कडा आपत्ति, फिर्ता लिन सरकारलाई चेतावनी

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठन हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरी नेविसंघले सरकारको एकपक्षीय कदमले अनावश्यक तनाव उत्पन्न हुने चेतावनी दिएको हो ।

त्यसले विश्वविद्यालयको शैक्षिक वातावरणमा प्रतिकूल असर पार्ने भएकाले गम्भीरतापूर्वक मनन गर्न सरकारलाई नेविसंघले आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘काल्पनिक समस्यामा समय र स्रोत व्यय नगरी विश्वविद्यालय सुधारका वास्तविक मुद्दामा केन्द्रित हुन तथा गैरकानुनी निर्णय खारेज गर्न नेपाल सरकारलाई अनुरोध गर्दछौं। विश्वविद्यालयको संवैधानिक स्वायत्ततामाथि हस्तक्षेप गर्ने र विद्यार्थीको संगठित हुने मौलिक अधिकारलाई अपराधीकरण गर्ने जुनसुकै प्रयास नेपाल विद्यार्थी संघलाई सर्वथा अस्वीकार्य छ। तसर्थ, सरकारको यस कदमको संघ सृजनात्मक रूपमा प्रतिवाद गर्ने यसै विज्ञप्तिमार्फत सूचित गराउँदछौं।’

उसले अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा भएको उल्लेख गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *