सिरहा।पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको व्यस्त गोलबजार क्षेत्रका सडकमा लाग्ने हाटबजारका कारण दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । प्रत्येक मङ्गलबार र शनिबार लाग्ने हाटबजारले राजमार्गको ठूलो हिस्सा ओगट्दा सवारी सञ्चालन र पैदलयात्रीको आवागमनमा सास्ती हुँदै आएको हो ।
गुदरी हाटबजार भनेर चिनिएको यो बजारलाई गोलबजार नगरपालिकाले विसं २०८२ देखि २०८५ सम्मका लागि कुल रु एक करोड २४ लाख ३० हजारमा ठेक्का लगाएको छ । वार्षिक रु ४१ लाख १४ हजार राजस्व सङ्कलन हुने भनिए पनि बजार व्यवस्थापनमा उचित काम नभएको स्थानीयको गुनासो छ ।
स्थानीय रामबाबु यादवले भने, “नगरपालिकाले व्यापारीसँग रकम असुल्छ, तर सडकको जोखिम घटाउन र बजारलाई व्यवस्थित बनाउन चासो दिँदैन । त्यसैले दुर्घटनाको जोखिम झन् बढेर गएको छ ।”
गोलपार्क चोकबाट इलाका प्रहरी कार्यालय अगाडिसम्म करिब ५०० मिटर क्षेत्रमा फैलिएको हाटबजारमा सागसब्जी, फलफूलदेखि लत्ताकपडासम्मको व्यापार सडकमै हुन्छ । चोक नजिकै सवारीसाधन राख्ने स्थान र अर्कोतिर हाटबजार हुँदा पैदलयात्रीलाई हिँड्न सकस हुने गरेको स्थानीय प्रमोदकुमार सिंहले बताए ।
बजार व्यवस्थापनका लागि गोलबजार उद्योग व्यापार सङ्घले पटकपटक लिखित र मौखिक प्रस्ताव बुझाए पनि नगरपालिकाले सुनुवाइ नगरेको सङ्घका उपाध्यक्ष राकेश गुप्ताले बताए । विगतमा नगरपालिकाले दुई पटक प्रयास गर्दा करिब रु १० लाख खर्च भए पनि त्यसको प्रभाव सडकमा नदेखिएको उनको भनाइ छ ।
नगरपालिकाका प्रवक्ता सञ्जित लामाले भने व्यवस्थापनका लागि सर्वदलीय बैठक राखिए पनि ठोस समाधान ननिस्किएको बताउँदै पुनः सर्वदलीय छलफलमार्फत निकास खोजिने जानकारी दिए । वार्षिक लाखौँ राजस्व उठ्ने यो बजारलाई समयमा उचित ठाउँमा व्यवस्थापन नगरे ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै गोलबजारवासीले चिन्ता व्यक्त गरेका छन् ।




