भोजपुर । हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा बगाले थापाक्षेत्री समुदायको साझा पहलमा कल्याणकारी भवन निर्माण गरिएको छ । स्थानीय समुदायका सामाजिक, सांस्कृतिक र परम्परागत गतिविधिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो ।
भवन निर्माणमा प्रदेश सरकारको रु २७ लाख, वडा र गाउँपालिकाको रु १२ लाख र बाँकी रकम बगाले थापा समुदायबाट संकलन गरी कुल रु ६९ लाख खर्च गरिएको बगाले थापा–क्षेत्री कल्याणकारी परिषद् जिल्ला शाखाका अध्यक्ष विचारी थापाले जानकारी दिए । उनका अनुसार भवन निर्माण गर्न रु दुई लाख जग्गा खरिदमा खर्च भएको छ ।
स्थानीयवासी बलबहादुर थापाले भवनले थापा र क्षेत्री समुदायका सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने बताए । भवन नहुँदा वंशवली भेलाका लागि समस्या हुने गरेकामा अब सहजता भएको उनको भनाइ छ । “पहिले हामीलाई यस्ता कार्यक्रम सञ्चालन गर्न अन्य स्थानमा जानुपथ्र्यो, अब हाम्रो आफ्नै भवन भएको छ । यसले सामाजिक सहभागिता र समुदायिक एकता बढाउनेछ”, उनले भने ।
स्थानीय धनबहादुर थापाले भने, “यो केवल भवन होइन, हाम्रो समुदायको पहिचान र साझा प्रयासको प्रतीक हो । यसले गाउँका सबै सदस्यलाई सामाजिक, सांस्कृतिक र विकासका गतिविधिमा सक्रिय भाग लिन प्रेरित गर्नेछ ।”
भवनमा महिला समूह, बालबालिका, युवा समूह र वृद्धहरूका लागि कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । प्रशिक्षण, व्यावसायिक तालिम, सांस्कृतिक कार्यक्रम र बालबालिका गतिविधिसमेत यहाँ नियमित रूपमा सञ्चालन गर्न सहजता हुने स्थानीयको भनाइ छ ।
थापा–क्षेत्री कल्याणकारी भवनले लुङ्गिन क्षेत्रका स्थानीय बासिन्दामा आत्मविश्वास, सामाजिक जिम्मेवारी र समुदायिक सहकार्य बढाउने विश्वास व्यक्त गरिएको छ । यस प्रकारको पहलले गाउँमा विकास, सामाजिक सहभागिता र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने दिशामा स्थानीयवासी हेमराज कार्कीले बताए । भवनले गाउँका सबै सदस्यलाई एउटै ठाउँमा भेला भएर साझा योजना र कार्यक्रम सञ्चालन गर्ने अवसर दिएको छ । भवन निर्माणले स्थानीय थापा र क्षेत्री समुदायलाई मात्रै नभई सम्पूर्ण लुङ्गिन क्षेत्रका बासिन्दामा सामाजिक सहयोग, सहभागिता र समृद्धि बढाउने उनको भनाइ छ ।




