काठमाडौं । ऊर्जा क्षेत्रका विज्ञ रत्नसंसार श्रेष्ठले सिंहदरबारमा मन्त्री भेट्दा भोगेको अनुभव सार्वजनिक गर्दै वर्तमान राजनीतिक संस्कृतिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार केही दिनअघि एक मन्त्रीसँग निर्धारित भेटका लागि समयभन्दा अगावै सिंहदरबार पुगे पनि त्यहाँ देखिएको व्यवहारले उनलाई निराश बनाएको हो। श्रेष्ठका अनुसार उनी दिउँसो २ बजे तय भएको भेटका लागि १५ मिनेटअघि नै मन्त्रालय पुगेका थिए। तर भेट सुरु हुनै लाग्दा एक सांसद जबरजस्ती प्रवेश गरेर लामो समय लिएपछि बैठक ढिलाइ भएको उनले बताएका छन्। त्यसपछि मन्त्रीसँग छलफल सुरु गर्न खोज्दा अर्का सांसद आएर आफन्तका लागि सिफारिस गरेको घटनाले उनलाई झनै अचम्मित बनाएको उल्लेख गरेका छन्।
रत्नसंसार श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै नयाँ भनिएका नेताहरूको व्यवहार पुरानै शैलीको जस्तो देखिएको टिप्पणी गरेका छन्। “केही पनि फेरिएको जस्तो लागेन,” भन्ने निष्कर्ष उनले सार्वजनिक रूपमा राखेका छन्। आफ्नो अनुभवलाई उनले चर्चित फ्रान्सेली उखानमार्फत व्यक्त गरेका छन्—“जति धेरै कुरा बदलिन्छन्, त्यति नै उस्तै रहन्छन्।” उनका अनुसार राजनीतिक परिवर्तनपछि पनि व्यवहारमा सुधार नदेखिनु चिन्ताजनक हो। उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ र धेरैले यसलाई वर्तमान राजनीतिक कार्यशैलीप्रतिको प्रतिनिधि अनुभवका रूपमा लिएका छन्। रत्नसंसार श्रेष्ठको अनुभवले राजनीतिक परिवर्तनसँगै व्यवहारगत सुधारको अपेक्षा अझै पूरा हुन नसकेको संकेत गरेको बुझिएको छ ।




