देश

सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार अव्यावहारिक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सीमा क्षेत्रमा एक सय रुपैयाँभन्दा बढी मूल्यको सामानमा भन्सार तिर्नुपर्ने सरकारको निर्णय अव्यावहारिक भएको बताएका छन् ।

चुनावी क्षेत्र सर्लाहीको मधुवनीबाट फर्किएपछि सभापति थापाले स्थानीयसँगको छलफलका आधारमा उक्त निर्णयले सीमा क्षेत्रका नागरिकको दैनिक जीवन थप कष्टकर बनेको टिप्पणी गरेका हुन् । उनले भने, “त्यहाँका नागरिकसँगको अन्तर्क्रियापछि मनमा गहिरो छटपटी र आक्रोश लिएर फर्किएको छु। कागजमा सीमित तर हाल कडाइका साथ लागू गर्न खोजिएको १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने नियमले जनजीवनलाई कठिन बनाएको छ।”

थापाले सीमा क्षेत्रमा राज्यको व्यवहारमाथि नै प्रश्न उठेको उल्लेख गर्दै भने, “बिहान कामका लागि सीमा पार गर्ने मजदुरलाई बिस्कुटको प्याकेटका कारण दुई घण्टा रोकिनुपर्ने अवस्था छ। एक महिलाले भन्नुभयो—पहिला सम्मानका साथ सीमा पार हुन्थ्यो, अहिले डरका साथ हुन्छ।”

उनले यो व्यवस्था पुरानै कानुनी संरचनाको कमजोरी भएको स्वीकार गर्दै यसलाई समयमै सच्याउन नसक्नु दलहरूको गल्ती भएको बताए। “यो नागरिकमैत्री नीति होइन, हेपाहा प्रवृत्ति हो,” उनले भने, “स्वयं भन्सार विभागले पनि यसबाट उल्लेखनीय राजस्व उठ्दैन भनी स्वीकार गरेको छ, त्यसैले यो नीति किन र कसका लागि लागू गरियो भन्ने प्रश्न उठ्छ।”

सभापति थापाले सरकारले अव्यावहारिक निर्णय तत्काल फिर्ता लिनुपर्ने र सीमा क्षेत्रमा पहिले जस्तै सहज आवतजावत सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। उनले सीमा क्षेत्रलाई देशको अर्थतन्त्र, संस्कृति र विश्वासको महत्वपूर्ण आधार भन्दै त्यहाँका नागरिकलाई अपमानित गर्ने नीति स्वीकार्य नहुने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *