देश

खड्का समूहको बैठक धुम्बाराहीमा सुरु, कांग्रेसमा आन्तरिक विवाद चुलिँदै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठक धुम्बाराहीमा सुरु भएको छ।

होटल स्मार्टमा जारी बैठकमा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरू सहभागी छन्।

यसअघि ६ वैशाखमा सोही स्थानमा बसेको बैठकले ‘पर्ख र हेर’को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट देखिँदै आएका छन्।

उनले विशेष महाधिवेशन खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सर्वोच्चले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि पनि खड्काले आफ्नो समूहसँगको छलफललाई निरन्तरता दिँदै आएका छन्।

उनका गतिविधिलाई संस्थापन पक्षले अनुशासनविपरीत ठहर गर्दै स्पष्टीकरण मागेको थियो, तर खड्काले स्पष्टीकरण बुझाएका छैनन्।

यसबीच, सभापति गगन थापा ६ वैशाखमा गोल्फुटारस्थित खड्का निवास पुगेर भेटघाट गरेका थिए। दुई नेताबीच भएको छलफलबारे भने अहिलेसम्म सार्वजनिक रूपमा केही खुलाइएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *