काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया औपचारिक रूपमा टुंगिएको छ।
पार्टी सभापति गगन थापाका अनुसार लामो छलफल र संवादपछि सांसद भीष्मराज आङदेम्बे लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय भएको हो।
कार्यसम्पादन समितिको बैठकमा आङदेम्बेको नाम सर्वसम्मत रूपमा प्रस्ताव गरिएको थियो र उक्त प्रस्तावलाई सबै नेताहरूले स्वीकार गरेको सभापति थापाले जानकारी दिएका छन्।
नेतृत्व चयनमा भएको ढिलाइलाई उनले “लाचारी नभई परिपक्वता” को रूपमा व्याख्या गरेका छन्। उनका अनुसार आकांक्षी सांसदहरूबीच निरन्तर संवाद र सहमतिका आधारमा निर्णय गरिएको हो।
वरिष्ठ नेता अर्जुननरसिंह केसी सहित अन्य आकांक्षी सांसदहरूले पनि सहमति जनाउँदै आङदेम्बेलाई समर्थन गरेका थिए।
सभापति थापाले आङदेम्बेको नेतृत्वले पार्टीको मूल आदर्श र वर्तमान राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्दै सबै सांसदलाई एकताबद्ध बनाएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।




