काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा केन्द्रित भई लेखिएको ‘लाभा’ कविता सङ्ग्रह प्रकाशनमा आएको छ ।
विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित जेनजी कविताका प्रकाशकमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहनुभएको छ । कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता सङ्गृहीत छन् जसले भदौ २३ र २४ लाई सङ्केत गर्छन् । जुन दिन नेपालमा जेनजी आन्दोलन भौतिक रूपमा सुरु भई उत्कर्षमा पुगेको थियो ।
‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेनजी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’, ‘भदौ २३’ आदि शीर्षकमा नवपुस्ताका आशा, आकाङ्क्षा, मुलुकमा व्याप्त कुशासन, बेथिति र भ्रष्टाचार, जेनजी सहिदका भावना, पुराना राजनीतिक दल र तिनका नेताहरूको पुरातन सोचाइ, निर्वाचन आदि विषय समेटिएका छन् जसमा विश्वबोध भेटिन्छ ।
निरास युवाहरूका उकुसमुकुसले ज्वालामुखीको रूप लिएपछि उत्पन्न आक्रोशलाई ‘लाभा’ मार्फत प्रतिनिधित्व गराइएको छ । गीत, मुक्तक, हाइकु, कथा, धारावाहिक उपन्यास प्रकाशन गराइसकेका रिमालका समसामयिक विषयमा लेखिएका लेखरचना पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् ।
उनको यसअघि ‘एउटा काँढा बिझ्दा’, गीतसङ्ग्रह (विसं २०४८), ‘त्रिशूलीको किनाराबाट’, कविता सङ्ग्रह (विसं २०६६), ‘बारपाक’ कम्पकाव्य (विसं २०७४), ‘नदी बग्दैन’, कविता सङ्ग्रह (विसं २०७८), ‘चमेरो’, कोरोना कविता (विसं २०८०), ‘हिमाल त कालै भए छ’, २०२४ का कविता (विसं २०८१) कृति प्रकाशन भइसकेका छन् ।
पुर्ख्याैली घर तार्केश्वर/सामरीरत्रिशूली बजार, नुवाकोट रहेका उनी हाल आफूद्वारा विभिन्न समयमा फुटकर रूपमा लेखिएका प्रकाशित-अप्रकाशित निबन्धहरूको सङ्ग्रह प्रकाशनको गृहकार्यमा छन् ।




