देश

धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै बराहक्षेत्र विकास समिति

विराटनगर। बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटक बढाउने तथा तीर्थयात्रीलाई आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना गरेको छ।

सम्पर्क कार्यालयमार्फत सुनसरी, उदयपुर र धनकुटाका प्रमुख धार्मिक तथा पर्यटकीयस्थलको उचित व्यवस्थापन गर्नुका साथै दर्शनार्थीलाई आवश्यक सूचना तथा सेवा उपलब्ध गराउन सहयोग पुग्ने समितिको विश्वास छ।

कोशी प्रदेशका सुनसरी, उदयपुर र धनकुटामा रहेका धार्मिक तथा पर्यटकीयस्थलको पहिचान, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको समितिले जनाएको छ। साथै, पर्यटक तथा तीर्थयात्रीको सुविधाका लागि चतरादेखि बराहक्षेत्र मन्दिर परिसरसमम्म पुग्ने पूर्वाधार निर्माणमा सहजीकरण गर्ने योजना रहेको समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक अबिजाल बिष्टले भेडेटार र धरानका अतिरिक्त बराह मन्दिर तथा रामधुनी मन्दिर परिसरमा पनि सम्पर्क कार्यालय स्थापना गरी भेटीघाटीलाई व्यवस्थित र पारदर्शी बनाउने तथा तीर्थयात्रीलाई यथासक्य सुविधा उपलब्ध गराउने योजना रहेको बताए।

बृहत्तर बराहक्षेत्र विकास समितिले आफ्ना महत्त्वपूर्ण तथा अनुकरणीय कामका साथै धार्मिक तथा पर्यटकीय क्षेत्रका तस्बिर प्रदर्शन गरेर सर्वसाधारणलाई जानकारी गराउँदै आएको छ।

यसैगरी, समितिले विराटनगर विमानस्थलमा डिजिटल डिस्प्ले जडान गरी कोशी प्रदेशका रामधुनी, श्रीलङ्का टापु, कोशी करिडोर क्षेत्र, बेलकाराजा–बेलकारानी दरबार, मैनाराजा–मैनारानी दरबार, खुवालुङ, कुम्भस्तम्भ, औलियामोठ, छिन्ताङदेखि पाथिभरा मन्दिर, दन्तकाली, बुढासुब्बा र विष्णुपादुकालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा जानकारी दिँदै आएको छ।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानलाई आपसमा जोडेर ‘सर्किट’ निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड दिने तयारी भइरहेको कार्यकारी निर्देशक बिष्टले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *