काठमाडाैँँ । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ वटा शव निकालिएको छ।
नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङमा खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीभित्र अल्झिएको अवस्थामा ती शव फेला पारेको हो।
सुरुङभित्र हिलो र अन्य संरचनाले पुरिएको अवस्थामा शवजस्तो आकृति देखिएपछि खोजी कार्यलाई थप तीव्र बनाइएको सेनाले जनाएको छ। उद्धार टोलीले ग्रिन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी जाली काटेर शवहरू बाहिर निकालेको थियो।
बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सबैभन्दा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्। बिहीबारसम्मको विवरणअनुसार आयोजनामा कार्यरत ४९२ जना अझै सम्पर्कविहीन छन् भने ९३६ जना सम्पर्कमा आइसकेका छन्।
बाढी आउनुअघि आयोजनामा कुल १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए। कोरियाली लगानीमा निर्माण भइरहेको उक्त जलविद्युत् आयोजनामा बाढीले ठूलो क्षति पुर्याएपछि सुरुङ तथा आयोजनाको संरचनाभित्र बेपत्ता भएकाहरूको खोजी जारी छ।




