काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै कार्यक्रम गर्ने तयारी गरेपछि प्रहरीले उनलाई कार्यक्रम गर्न रोक लगाउँदै भक्तपुरस्थित निवास पठाएको छ । सोमबार झापाको भद्रपुरबाट काठमाडौं आएका प्रसाईँ विमानस्थलमा ओर्लिएपछि त्यहीँ कार्यक्रम गर्ने तयारीमा थिए । तर, विमानस्थलको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राख्दै परिसरभित्र कुनै किसिमको कार्यक्रम गर्न नमिल्ने भन्दै प्रहरीले उनलाई घर फर्काएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार प्रसाईँलाई पक्राउ भने गरिएको होइन । कार्यक्रम गर्न नमिल्ने जानकारी गराएर उनलाई आफ्नै निवास भक्तपुर पठाइएको हो । प्रहरीका अनुसार विमानस्थलमा सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति नहुने भएकाले सुरक्षाकर्मीले प्रसाईँलाई त्यहाँबाट बाहिर निकालेका हुन् ।
यसअघि पनि प्रसाईँलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको नभई आफ्नै सवारीसाधनमा राखेर भक्तपुरस्थित घर पुर्याएको थियो । प्रसाईँ पछिल्लो समय सार्वजनिक कार्यक्रम तथा राजनीतिक गतिविधिका कारण चर्चामा रहँदै आएका छन् । विमानस्थलमै कार्यक्रम गर्ने उनको तयारीलाई प्रहरीले भने सुरक्षा संवेदनशीलताका कारण अघि बढ्न नदिएको जनाएको छ ।




