काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा प्रस्तुत दुई छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी तीन शीर्ष नेतालाई दिइएको छ । काभ्रेको बल्थलीमा दुई दिनसम्म बसेको कार्यदल बैठकमा दुवै प्रतिवेदनमाथि छलफल भए पनि साझा निष्कर्षमा पुग्न नसकेपछि संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई प्रतिवेदनको अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको हो ।
थापा कार्यदलका संयोजक हुन् भने पोखरेल सदस्यसचिवको भूमिकामा छन् । बैठकमा प्रस्तुत दुवै मस्यौदा तथा कार्यदल सदस्यहरूले दिएका सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गरिने एमाले सचिव एवं कार्यदल सदस्य महेश बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार बैठकमा पार्टीको निर्वाचन परिणाम, समग्र कार्यशैली, संगठनात्मक अवस्था र पार्टी संरचनाबारे विस्तृत समीक्षा भएको थियो । संगठनलाई थप प्रभावकारी बनाउने तथा आवश्यक पुनर्संरचना र पुनर्ताजगी ल्याउने विषयमा पनि छलफल भएको उनले बताएका छन् । बैठकमा पार्टी नेतृत्व परिवर्तनको विषयलाई लिएर बाहिर फैलाइएका विभिन्न हल्ला र भ्रमबारे समेत छलफल भएको थियो । सचिव बस्नेतले कार्यदलको बैठकले अध्यक्ष परिवर्तनसम्बन्धी भ्रम र हल्ला चिरेको दाबी गरेका छन् ।
यस्तै, एमालेले वर्तमान सरकारका गतिविधिलाई अधिनायकवादी, फासिवादी तथा जनविरोधी भन्दै त्यसको विरोधमा पार्टीलाई थप एकताबद्ध र सक्रिय बनाउने निष्कर्ष निकालेको छ । बैठकले सरकारका गतिविधिविरुद्ध जनताको पक्षमा दृढतापूर्वक उभिनुका साथै पार्टी संगठनलाई थप जुझारु बनाउने विषयमा प्राप्त सुझावलाई प्रतिवेदनमा समेट्ने निर्णय गरेको बस्नेतले बताएका छन् ।
कार्यदलको अर्को बैठक असोज १ गते बस्ने भएको छ । उक्त बैठकमा बादल, पौडेल र पोखरेलले तयार पारेको एकीकृत प्रतिवेदन पेस गर्ने तयारी छ ।




