रुकुमपश्चिम । रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।
सानीभेरी गाउँपालिका–६ कोटबाट खलङ्गातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जीप आज बिहान करिब ८ बजे सडकबाट झन्डै एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा नौ जना घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर र पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये सानीभेरी गाउँपालिका–६ का वडा सदस्य वलबहादुर पुनसमेत रहेको बताइएको छ ।
गम्भीर घाइतेलाई थप उपचारका लागि सानीभेरीबाट सुर्खेत लैजान पालिकाले हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




