देश

तीजमा पशुपतिनाथमा बढ्यो भक्तजनको चाप, १० बजेपछि दर्शनार्थीको लाम

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान १० बजेपछि महिला दर्शनार्थीको चाप बढेको छ । बिहान ९ बजेसम्म भक्तजनको उपस्थिति सामान्य रहे पनि त्यसपछि क्रमशः भीड बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार बिहान १० बजेसम्म भक्तजनले करिब आधा घण्टामै दर्शन गरेर फर्कने अवस्था थियो । त्यसपछि भने मन्दिर दर्शनका लागि लाम बस्नुपर्ने अवस्था आएको छ ।

ललितपुरको चापागाउँबाट पशुपति पुगेकी रञ्जिता शर्माले बिहान १० बजेपछि लाम बढ्न थालेको बताइन् । उनका अनुसार त्यसअघि भने सहज रूपमा दर्शन गर्न सकिने अवस्था थियो ।

संस्कृति संरक्षण महाशाखाका बिसेट नायके अरुण श्रेष्ठले बिहानै वर्षा हुनुका साथै त्यसपछि पनि आकाशमा बादल लागेकाले बिहान भक्तजनको उपस्थिति कम भएको बताए ।

यस वर्ष भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले शोकका कारण पनि विगतको तुलनामा शिवालयमा आउने भक्तजनको संख्या केही घटेको कोषले जनाएको छ ।

पशुपति क्षेत्रका विभिन्न स्थानमा रातो पहिरनमा सजिएका महिला दर्शनार्थीको लाम देखिएको छ । छिटो दर्शन गर्नुपर्ने भक्तजनका लागि कोषले सःशुल्क टिकटको व्यवस्था गरेको छ । रु. १ हजारको टिकट लिएर दिनभरि नै दर्शन गर्न सकिने व्यवस्था गरिएको कोषले जनाएको छ ।

तीजका अवसरमा दिउँसो ३ बजे प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना तथा दर्शन गर्ने कार्यक्रम रहेको सदस्य सचिव श्रेष्ठले जानकारी दिए । अन्य विशिष्ट व्यक्तिको दर्शनबारे भने अहिलेसम्म कुनै जानकारी नआएको कोषले जनाएको छ ।

तीजका अवसरमा काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, त्रिपुरेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वरलगायत शिवालयमा पनि महिला भक्तजनको घुइँचो लागेको छ । देशभरका विभिन्न साना तथा ठूला शिवालयमा समेत पूजा, आराधना र दर्शनका लागि महिला भक्तजनको भीड लागेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *