काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापालाई महाधिवेशनको प्रक्रिया केही समय स्थगित गरेर शीर्ष नेताहरूसँग संवाद अघि बढाउन आग्रह गरेका छन्। खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पार्टीभित्रको एकता अझै सम्भव रहेको बताएका हुन्। उनले वर्तमान परिस्थितिमा गम्भीर आत्मसमीक्षा गर्दै विवाद समाधानका लागि वार्ता र संवादलाई प्राथमिकता दिन थापालाई आग्रह गरेका छन्।
उनका अनुसार थापाले अहिले गरेको निर्णय वैशाख २१ गते भएको संवादलगत्तै गरेको भए जेठको पहिलो साताभित्रै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन सकिने अवस्था बन्न सक्थ्यो। खड्काले त्यसबेला पार्टी एकताका पक्षमा देश तथा विदेशमा रहेका नेता, कार्यकर्ता र शुभेच्छुकमा उत्साह पैदा हुने दाबी गरेका छन्। उनले असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गर्नसमेत थापालाई सुझाव दिएका छन्। त्यसपछि १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग थापाकै पहलमा तत्काल वार्ता तथा संवाद सुरु गर्नुपर्ने खड्काको भनाइ छ।
‘पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ’ भन्ने विश्वास व्यक्त गर्दै उनले वर्तमान निर्णयलाई आधार बनाएर शीर्ष नेतृत्वबीच संवाद अघि बढाउन आग्रह गरेका छन्। खड्काले महाधिवेशनको प्रक्रिया अलग–अलग रूपमा अघि बढे कांग्रेस विभाजनको जोखिम बढ्ने चेतावनीसमेत दिएका छन्। उनका अनुसार दुई छुट्टाछुट्टै अधिवेशनको प्रक्रिया नरोकिए पार्टी विभाजन रोक्न कठिन हुने अवस्था आउन सक्छ। कांग्रेसभित्र नेतृत्व, महाधिवेशन र पार्टीको भावी संरचनालाई लिएर विवाद कायम रहेका बेला खड्काको यो आग्रह सार्वजनिक भएको हो।




