देश

गोकर्णेश्वरमा आज पितृ सम्मान गरियो

काठमाडौँ । भाद्र कृष्ण औँसीका अवसरमा काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पितृ सम्मानका लागि आएका भक्तजनले यस वर्ष विगतको तुलनामा सहज रूपमा वाग्मती नदी किनारमा पुगेर तर्पण, सिदादान तथा पिण्डदान गरेका छन्।

नेपाल ट्रष्टको जग्गा छेउमा रहेको पर्खाल भत्काएर बाटो फराकिलो बनाएपछि माकलबारीतर्फको सडक हुँदै भक्तजनलाई मन्दिर क्षेत्र प्रवेश गर्न सहज भएको हो। बाटो फराकिलो भएपछि मेलामा आउने भक्तजनको आवतजावत व्यवस्थापनसमेत सहज भएको आयोजकले जनाएको छ।

काठमाडौँ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेको पहलमा नेपाल ट्रष्टको जग्गा छेउको पर्खाल भत्काइएको हो। उक्त पर्खाल पछाडि सारेर दक्षिणढोका निस्कने बाटो खुलाउन लामो समयदेखि माग हुँदै आएको थियो।

गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष तथा गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतका अनुसार पर्खाल हटाएपछि यस वर्ष पितृ सम्मान मेला विगतको तुलनामा सहज रूपमा व्यवस्थापन गर्न सकिएको छ।

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पितृ सम्मान मेला लाग्ने गर्छ। यस अवसरमा बाबु नहुनेहरूले विभिन्न पवित्र तीर्थस्थलमा पुगेर दिवङ्गत पितृका नाममा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने वैदिक सनातन परम्परा रहेको छ।

यसै परम्पराअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा आज ठूलो संख्यामा भक्तजन भेला भएका छन्। मेलाको व्यवस्थापनका लागि बुधबारदेखि नै तयारी गरिएको थियो।

सिन्धुलीबाट पितृ सम्मानका लागि गोकर्णेश्वर आएका रामचन्द्र बरालले विगतका वर्षको तुलनामा यस वर्ष मन्दिर क्षेत्रमा प्रवेश गर्न सहज भएको बताए। बाटो फराकिलो भए पनि माटो व्यवस्थापन नगरिएका कारण हिलोले केही समस्या भएको उनको भनाइ छ।

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको लाम लागेको थियो।

मेलालाई व्यवस्थित बनाउन आज नेपाल मेडिकल कलेज र माकलबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकेर मन्दिर क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *