देश

सार्वजनिक सवारीको दर्ता खुल्यो, उपत्यकामा भने स्कुलबस र सट्टाभर्नालाई मात्र अनुमति

काठमाडौँ। यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ ।

विभागले भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी काठमाडौँ उपत्यकाभित्रको रुट तथा सवारीसाधन व्यवस्थापनको लागि हाललाई असोज १ गतेदेखि लागू हुने गरी दर्ता खुला गरेको हो ।

काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइने विभागको भनाइ छ । विभागका निर्देशक मणिराम भुसालले काठमाडौँ उपत्यकाभित्र भने स्कुलबस एवं सट्टाभर्नाको हकमा मात्र सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको बताए।

यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्काे सूचना जारी नभएसम्मका लागि रोक्का गरिएकामा गत साउन १८ गते एक सूचना जारी गरी मालवाहक सवारीसाधनको दर्ता खुला गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *