कैलाली। कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।
जिल्लामा जापानिज इन्सेफलाइटिसका बिरामी फेला परेपछि घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीले जानकारी दिए ।
उनका अनुसार धनगढी उपमहानगरपालिकामा भने असोज ८ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ । कैलालीमा यस वर्ष जापानिज इन्सेफलाइटिसका आठ जना बिरामी फेला परेका छन् । तीमध्ये लम्कीचुहा नगरपालिकाका दुई, धनगढी उपमहानगरपालिकाका तीन र घोडाघोडी नगरपालिकाका तीन जना छन् ।
घोडाघोडी नगरपालिकामा संक्रमित भएका तीन जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।
जिल्लाका १३ स्थानीय तहमध्ये जेईका बिरामी फेला परेका घोडाघोडी, लम्कीचुहा र धनगढीमा खोप अभियान सञ्चालन गर्न लागिएको धामीले बताए । अन्य स्थानीय तहमा पनि चालु आर्थिक वर्षभित्र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।
यसैबीच, घोडाघोडी नगरपालिकामा कर्मचारीलाई खोप लगाएर अभियानको सुरुआत गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले आज बिहान खोप लगाएर अभियानको उद्घाटन गरेका हुन् ।
घोडाघोडी नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहोराका अनुसार नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत १२ वटै वडाका समुदायमा खोप सेवा सञ्चालन गरिनेछ ।
अभियानअन्तर्गत ३० वर्ष उमेरसम्मका व्यक्तिलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइने बोहोराले जानकारी दिए । घोडाघोडीमा सुरु भएको खोप अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।
अभियानका क्रममा नगरपालिकाका सबै वडाका लक्षित समुदायसम्म पुगेर खोप सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।




