काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन् ।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले गरेको बैठकमा सहभागी भएका तामाङ बैठक सकिएलगत्तै पक्राउ परेका हुन् ।
अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा पक्राउ गर्न प्रहरी वृत्त दरबारमार्गले अनुमति मागेको र अदालतबाट अनुमति प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार तामाङलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट सोमबार नै अनुमति लिइएको थियो । सोही अनुमतिका आधारमा सिंहदरबारबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
४३ वर्षीय तामाङ काठमाडौंको नयाँबजारमा ‘ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि’ सञ्चालन गर्दै आएका थिए ।




