देश

व्यक्तिगत महत्वाकांक्षाका लागि विधि र नियम मिच्नु हुँदैन : सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५ औँ महाधिवेशनको तयारी अघि बढिसकेको भन्दै पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका छन् ।

शुक्रवार लौहपुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा काठमाडौँको शोभा भगवतीस्थित उहाँको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलका लागि राजनीतिक मुद्दा र एजेण्डा मुख्य हुने उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए । अदालतले न्यायिक विषयमा आफ्नो भूमिका निर्वाह गर्ने र राजनीतिक विषयमा राजनीतिक दलले नै निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।

सिंहले काँग्रेसले विगतदेखि नै राजनीतिक मुद्दालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै बीपी कोइराला र गणेशमान सिंहले २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग स्मरण गरे । त्यसपछिका राजनीतिक घटनाक्रमले २०४६ सालको परिवर्तनको आधार तयार गरेको उनले बताए ।

उनले काँग्रेसले जनताको अधिकार पुनर्बहालीका लागि विगतदेखि नै संघर्ष गर्दै आएको उल्लेख गर्दै अहिले पनि पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता र विधिको पालना गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताए ।

सिंहले १४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशनमा जाने प्रक्रिया पार्टीको विधि र नियमअनुसार अघि बढिसकेको बताए । कसैको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न विधि र नियम मिच्नु उचित नहुने उनको भनाइ थियो ।

उनले भने, “काँग्रेसको चाहना विशेष महाधिवेशन थिएन । १४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशनको तयारीतर्फ हामी अगाडि बढिसकेका छौँ । जस्तोसुकै परिस्थितिमा पनि पार्टीको विधि, नियम र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार महाधिवेशन सम्पन्न गर्न हामी अडिग छौँ ।”

काँग्रेसको विधानले महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्ष तोकेको र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था रहेको सिंहले बताए । थपिएको एक वर्षको अवधि यही मंसिरमा पूरा हुने उनको भनाइ थियो ।

उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसंग्रहमा पञ्चायतले जिते पनि काँग्रेस आफ्नो लोकतान्त्रिक मान्यताबाट पछि नहटेको उल्लेख गरे । त्यसैको निरन्तरतामा २०४६ सालमा राजनीतिक परिवर्तन सम्भव भएको उनको भनाइ थियो ।

नेपालको संविधानले पनि एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्मको अवधि साढे पाँच वर्षभन्दा बढी नहुने व्यवस्था गरेको उल्लेख गर्दै सिंहले पार्टीले संविधानको भावना र मर्मअनुसार नै महाधिवेशनको प्रक्रिया अघि बढाउने बताए ।

विधिको शासन स्थापित गर्न, जनताको अधिकार सुरक्षित राख्न र राष्ट्रको हितको रक्षा गर्न काँग्रेस प्रतिबद्ध रहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *