दक्षिणी वेस्ट ब्याङ्कको मासाफेर याट्टा क्षेत्रमा इजरायली अधिकारीहरूले घर तथा अन्य संरचना भत्काएपछि करिब ३० बालबालिकासहित ६० जना प्यालेस्टिनी विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले घटनाप्रति चिन्ता व्यक्त गर्दै यस क्षेत्रमा थप विस्थापनको जोखिम बढेको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार मङ्गलबार दुई प्यालेस्टिनी पशुपालन समुदायका २० घरसहित पानीका तलाउ, सौर्य प्यानललगायत संरचना भत्काइएका थिए । यसअघि सेप्टेम्बर २ मा नजिकैको अर्को समुदायमा पनि संरचना भत्काइएको थियो । ध्वस्त गरिएका धेरै संरचना दातृ निकायको सहयोगमा निर्माण भएका थिए ।
हेब्रोन पहाडी क्षेत्रमा पर्ने मासाफेर याट्टाका १३ समुदायमा करिब एक हजार दुई सय प्यालेस्टिनी बसोबास गर्छन् । इजरायली अधिकारीहरूले यस क्षेत्रलाई ‘गोलीबारी क्षेत्र’ तोकेका छन् भने मानवीय संस्थाहरूले बस्ती चौकी स्थापना भएपछि प्यालेस्टिनीमाथि हिंसा बढेको बताउँदै आएका छन् ।
संयुक्त राष्ट्रसङ्घ र मानवीय साझेदारले बुधबार प्रभावित क्षेत्रको भ्रमण गरी विस्थापित परिवारलाई आपत्कालीन आश्रय, खाना, सरसफाइका सामग्री, शिशुका आवश्यक सामग्री र मनोसामाजिक सहयोग उपलब्ध गराएका छन् ।
ओसिएचएका अनुसार यस वर्ष वेस्ट ब्याङ्कमा संरचना भत्काइएका कारण करिब एक हजार पाँच सय प्यालेस्टिनी विस्थापित भएका छन् । बसोबास गर्नेहरूमाथिको हिंसा र आवतजावत प्रतिबन्धका कारण थप दुई हजार छ सयभन्दा बढी विस्थापित भएका छन् ।
यसैबीच, गाजामा संयुक्त राष्ट्रसङ्घीय निकाय तथा मानवीय साझेदारले देइर अल–बलाहको अल–बुरेज क्षेत्रमा हवाई आक्रमणबाट आश्रयस्थल ध्वस्त वा क्षतिग्रस्त भएका ३० परिवारलाई आपत्कालीन सहायता उपलब्ध गराइरहेका छन् । सेप्टेम्बरको पहिलो साता हवाई आक्रमण, भवन भत्किँदा र आगलागीलगायत १८ घटनाबाट प्रभावित एक सयभन्दा बढी परिवारलाई सहयोग गरिएको तथा एक हजार आठ सयभन्दा बढी परिवारलाई पाल, प्लास्टिकका पाना, ओछ्यान र सौर्य बत्तीलगायत आश्रय सामग्री वितरण गरिएको ओसिएचएले जनाएको छ ।




