काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनले बाढीबाट जिल्लाका १८ विद्यालय प्रभावित भएको देखाएको छ।
प्रतिवेदनअनुसार ११ वटा विद्यालयका भवन पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने सात विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनसँगै कक्षाकोठामा रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्तिसमेत बाढीले नष्ट गरेको छ।
बाढीका कारण त्यस क्षेत्रमा ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
प्रभावित विद्यालयका संरचना पुनर्निर्माण तथा तत्काल पठनपाठन सञ्चालनमा ल्याउन १० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। त्यस्तै, दीर्घकालीन पुनरुत्थानका लागि २ अर्ब २३ करोड ८२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने आकलन गरिएको छ।
सरकारले बाढी प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ समेत घोषणा गरेको छ। सरकारको आग्रहमा नेपालका निजी विद्यालयसम्बद्ध पाँच संस्थाले प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बाढीका कारण विस्थापित भई विभिन्न स्थानमा बसिरहेका विद्यार्थीको पठनपाठन तत्काल सञ्चालन गर्न उनीहरूको पायक पर्ने विद्यालयमा अध्ययनको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहले सहजीकरण गरिरहेका छन्।
सरकारले प्रभावित विद्यालयको पुनर्निर्माणसँगै विद्यार्थीको शैक्षिक निरन्तरता कायम गर्न तत्कालीन राहत तथा दीर्घकालीन पुनरुत्थानका कार्यक्रमलाई अघि बढाउने तयारी गरेको छ।




