देश

ग्यास अभावले जनजीवन प्रभावित, सरकारप्रति एमालेको प्रश्न : जनताको चुलो कहिले बल्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सहज आपूर्ति र वितरणको व्यवस्था गर्न माग गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले ग्यासको आपूर्ति व्यवस्थापन गर्न नसकेर सरकारले आफ्नो लाचारी प्रदर्शन गरेको आरोप लगाइन्। उनले ग्यासको अभावका कारण दैनिक ज्यालादारीमा काम गर्ने, मजदुर, विद्यार्थी, अपांगता भएका व्यक्ति तथा निम्न आय भएका परिवार सबैभन्दा बढी प्रभावित भएको बताइन्।

‘एक सुत्केरीका श्रीमान्ले ग्यास नपाएर खोलामा हाम फालेको घटना ताजै छ,’ उनले भनिन्, ‘यो सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको छ।’ अर्यालले ग्यासको अभावलाई सामान्य विषयका रूपमा नलिन सरकारलाई आग्रह गरिन्। उनका अनुसार आयात तथा वितरणमा देखिएको समस्याले ज्यालामा निर्भर ठूलो जनसंख्यालाई प्रत्यक्ष असर पारेको छ। उनले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको दाबी गर्दै उपभोक्ता महँगो मूल्यमा सिलिन्डर किन्न बाध्य भएकोप्रति पनि आपत्ति जनाइन्।

‘अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ। तर गरिखाने वर्ग, मजदुर, विद्यार्थी, अपांगता भएका व्यक्ति तथा समग्र निम्न वर्गका लागि खाना पकाउने ग्यासको अभावले ठूलो समस्या सिर्जना गरेको छ,’ उनले भनिन्। सरकारले ग्यास अभावबाट प्रभावित परिवारको वास्तविक अवस्था पहिचान गर्नसमेत नसकेको उनको आरोप थियो। एउटै सिलिन्डरको भरमा खाना पकाउने र सिलिन्डर सकिएपछि तत्काल साटेर ल्याउनुपर्ने परिवारको संख्या कति छ भन्ने तथ्यांक सरकारसँग छ कि छैन भन्दै उनले प्रश्न उठाइन्।

अर्यालले ग्यास खोज्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाले श्रमिक वर्गको रोजगारीसमेत प्रभावित भएको बताइन्। ‘महँगो मूल्यमा ग्यास किन्न बाध्य जनता छन्। निम्न वर्गका लागि विद्युतीय चुल्होको सुविधा छैन,’ उनले भनिन्, ‘काम छाडेर ग्यास खोज्न जाने कि काम गर्न जाने?’ उनले तत्काल ग्यासको नियमित आपूर्ति सुनिश्चित गरी उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउने वातावरण बनाउन सरकारसँग माग गरिन्। साथै, आपूर्ति प्रणालीमा देखिएको समस्या र बजारमा भइरहेको अभावबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *