काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपियाँदरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितका ५० रुपियाँदरका बैंकनोट असोज २ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो ।
राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार साविककै आकार तथा रङमा ५० रुपियाँ दरका बैंकनोट निष्कासन गर्न लागिएको हो ।
नयाँ नोटको अगाडिको भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपियाँ ५० रुपियाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ ।
नोटको बायाँतर्फको सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ । नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, १.२ मिलिमिटर चौडा कागजमा बनाइएको सुरक्षा धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र उक्त धागोमा ‘NRB’ लेखिएको छ ।
नोटको पछाडिको मध्य खण्डमा हिँडिरहेको चितुवाको चित्र र सोको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ । नोटको तल्लो खण्डमा ‘RUPEES FIFTY’ तथा सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले यसअघि सूचना प्रकाशित गरी ५० रुपियाँ दरको बैंकनोट चलनचल्तीमा ल्याउँदै आएकोमा अब नयाँ सिरिजका नोटसमेत प्रचलनमा ल्याउन लागेको हो ।





