काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ता समस्यामा परेका छन्। ग्यास लिन डिलर तथा बिक्री केन्द्रमा पुगेका सर्वसाधारणले खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था आएको गुनासो गरेका छन्। कपन,चाबहिल, धुमबाराही,चक्रपथ, तिनकुने,कोटेश्वर लगायतका ग्याँस डिलरहरु प्रयाप्त ग्याँस नआएको बताउँछन् ।
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा ग्याँसको अभाव भएको उनीहरु प्रतिक्रिया दिन्छन्् । तर उता नेपाल आयल निगमले भने बजारमा प्रयाप्त ग्याँस भएको बताउँदै आएको छ । बजारमा ग्यासको अभाव हुँदा उपभोक्ताहरु भान्सा छोडेर होटल तथा रेस्टुरेन्टमा खाना खान जानुपरेको गुनासो सुनाउँछन् । डिलरमा एक महिनादेखि सिलिन्डर बुझाएर बसेका एक उपभोक्ता ग्यासँको अभावमा होटल गएर निरन्तर खाना खाइरहेका गुनासो गर्छन्। नेपाल ग्यासँ स्टोरका मालिकहरुलाई फोन गर्दा फोन नउठाउने र प्राय फोन स्वीच अफ गरेर बस्ने गरेको उनीहरुले बताएका छन् ।
राजधानीका विभिन्न क्षेत्रमा ग्यास खोज्दै डिलरमा पुगेका उपभोक्तालाई ‘ग्यास छैन’ भन्ने जवाफ दिने गरेको बताउँछन् । कतिपय बिक्री केन्द्रमा ग्यास आउने निश्चित समयसमेत बताउन नसकिएको उपभोक्ताको भनाइ छ। ग्यासको नियमित आपूर्ति हुन नसक्दा घरायसी उपभोक्तासँगै होटल तथा रेस्टुरेन्ट व्यवसायसमेत प्रभावित हुने अवस्था देखिएको छ। खाना पकाउने मुख्य इन्धनका रूपमा एलपी ग्यासमा निर्भर उपभोक्तालाई अभावले थप कठिनाइ भएको छ।
यता ग्यास डिलरहरूले आफूहरूसँगै पर्याप्त मात्रामा ग्यास उपलब्ध नभएको बताएका छन्। मागअनुसार आपूर्ति हुन नसकेका कारण उपभोक्तालाई ग्यास उपलब्ध गराउन कठिन भएको उनीहरूको भनाइ छ। बजारमा ग्यासको अभाव देखिए पनि यसको वास्तविक कारणबारे सम्बन्धित निकायबाट स्पष्ट जानकारी सार्वजनिक भएको छैन। आपूर्ति व्यवस्थापन सहज नबनाइए ग्यासको अभाव थप बढ्न सक्ने भन्दै उपभोक्ताले तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।
नियमित रूपमा प्रयोग हुने अत्यावश्यक वस्तुमध्ये पर्ने एलपी ग्यासको आपूर्ति प्रणालीमा देखिएको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने उपभोक्ताको जोड छ। नेपाल आयल निगमले पनि सबैतिर सहज हुने स्थानतिरका डिलरलाई ग्याँस नदिदा टाढा–टाढा पुगेर उपभोक्ताले ग्याँस किन्नुपर्ने बाध्यता समेत रहेको व्यावसायीहरु बताउँछन् ।
निगमको निरिक्षण्को अभावमा कतिपय ग्यास डिलहरुले २५ सयदेखि ३ हजारसम्म ग्यास बिक्रिवितरण गरिरहेका छन् । सो गुनासो सवर्तत्र विभिन्न संचारमाध्यम र बजारमा सार्वजनिक हुँदा समेत सरकार मौन बसेको छ । सरकारले नागरिकहरुलाई पर्ने समस्या समाधानका लागि विभिन्न निकायहरुको ध्यानाकर्षण गराउनुको सट्टा चुप लागेर बस्नु कति जायज विषय हो ? उपभोक्ताहरु महिनौँदेखि नाम टिपाएर ग्याँस पाउने अपेक्षामा बसे पनि अहिलेसम्म ग्याँस नै पाउन सकेका छैनन् । कुनै कुनै डिलर र प्रशासनअघि ग्याँस निश्चित संख्यामा बिक्रि गर्दा नागरिकहरु मारमा परेका छन् ।




