देश

जनमतको दोस्रो महाधिवेशनमा १०० जना निर्वाचित हुने, ५१ सदस्य मनोनित गरिने

काठमाडौं । जनमत पार्टीले असोज ९ र १० गते वीरगञ्जमा आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। महाधिवेशनबाट केन्द्रीय कार्यकारिणी समितिमा १०० जना निर्वाचित हुने र थप ५१ जनालाई समावेशी आधारमा मनोनित गरिने व्यवस्था गरिएको छ।

पार्टीका अनुसार महाधिवेशनका लागि निर्वाचन निर्देशिकालगायत आवश्यक दस्तावेज तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। नयाँ नेतृत्व चयनका लागि पार्टीले निर्वाचनसम्बन्धी विभिन्न व्यवस्था पनि सार्वजनिक गरेको हो। निर्देशिकाअनुसार केन्द्रीय कार्यकारिणी समितिमा बढीमा १७ जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा अध्यक्ष एक, उपाध्यक्ष बढीमा सात, महासचिव एक, उपमहासचिव एक र सचिव बढीमा सात जना रहनेछन्।

त्यस्तै, कोषाध्यक्ष र प्रवक्ताको चयन भने अध्यक्षले मनोनयनमार्फत गर्ने व्यवस्था गरिएको छ। निर्वाचित हुन नसकेका वा रिक्त रहेका पदमा समेत पार्टी अध्यक्षले आवश्यकताअनुसार मनोनयन गर्न सक्ने प्रावधान राखिएको छ। महाधिवेशनबाट निर्वाचित हुने १०० सदस्यबाहेक थप ५१ सदस्य समावेशी आधारमा मनोनित गरिने जनमत पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा ४० वर्षमुनिका युवा तथा महिलाको सहभागिता कम्तीमा एकतिहाइ पुर्‍याउने लक्ष्यसमेत पार्टीले अघि सारेको छ।

उम्मेदवारी शुल्क १५ हजारदेखि ५ हजारसम्म

निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय पदाधिकारी पदका लागि उम्मेदवारी दर्ता गर्न १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, केन्द्रीय सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ। उम्मेदवारले पार्टीको आधिकारिक खातामा शुल्क जम्मा गरी त्यसको रसिदसहित तोकिएको फाराम भर्नुपर्नेछ। उम्मेदवारी पत्र पार्टीको आधिकारिक इमेलमार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ। जम्मा गरिएको उम्मेदवारी शुल्क कुनै पनि कारणले फिर्ता नहुने पार्टीले स्पष्ट पारेको छ।

केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुन उम्मेदवारले खसेको कुल मतको कम्तीमा २० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ। खुलातर्फ एउटै जिल्लाबाट बढीमा पाँच जना मात्रै केन्द्रीय सदस्य निर्वाचित हुन सक्ने प्रावधानसमेत निर्वाचन निर्देशिकामा राखिएको छ। मतपत्रमा तोकिएको पद संख्याभन्दा बढी उम्मेदवारको नाममा मत संकेत गरिएमा माथिल्लो क्रमबाट आवश्यक संख्याका उम्मेदवारलाई दिइएको मत मात्रै मान्य हुने व्यवस्था गरिएको छ। जनमत पार्टीले वीरगञ्जमा हुने दोस्रो महाधिवेशनमार्फत नयाँ केन्द्रीय नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनालाई थप व्यवस्थित गर्ने तयारी गरेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *