काठमाडौं । राजधानीका ग्यास डिपोअगाडि खाली सिलिन्डर बोकेर उपभोक्ताको लामो लाइन लाग्न निकै लामो समय भइसकेको छ । तर बालेन सरकार अझै मौन छ । कतिपय उपभोक्ता एक सातासम्म पालो कुरिरहेका छन्। तर ग्यासको गाडी नआएको डिपो सञ्चालकहरु बताउँछन् । बजारमा देखिएको यो संकटलाई नेपाल आयल निगमको तथ्यांकले केवल ढुवानीको समस्या मात्र नभई विगतको आयात व्यवस्थापनसँग पनि जोडेको देखाएको छ । निगमका आन्तरिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा आवश्यकताको प्रक्षेपणभन्दा ९४ हजार ६४४ मेट्रिक टन कम एलपी ग्यास आयात भएको थियो।
यस अवधिमा निगमले ५ लाख २१ हजार ५२९ मेट्रिक टन ग्यास आयात गरेको थियो। जबकि अघिल्लो आर्थिक वर्षको वास्तविक खपत र मौसमी मागको आधारमा २०८२/८३ का लागि ६ लाख १६ हजार १७३ मेट्रिक टन ग्यास आवश्यक पर्ने प्रक्षेपण गरिएको थियो। यसरी प्रक्षेपणको तुलनामा आयात १५.३६ प्रतिशत कम भयो। अझ अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भएको वास्तविक खपतभन्दा समेत करिब ३३ हजार ५८२ मेट्रिक टन कम ग्यास आयात भएको तथ्यांकमा उल्लेख छ ।
उक्त आर्थिक वर्षमा नेपाल आयल निगमको नेतृत्व तत्कालीन कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले गरेका थिए। निगमको तथ्यांकअनुसार आयातमा देखिएको कमी वर्षभरि समान थिएन। विशेषगरी आर्थिक वर्षको अन्तिम चार महिना–चैतदेखि असारसम्म–आयातमा ठूलो गिरावट देखिएको छ । यो अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ग्यास आयात २२.०१ प्रतिशतले घटेको थियो। प्रक्षेपणको तुलनामा भने कमी २९.७४ प्रतिशत पुगेको थियो। यही अवधिमा आयात घट्दै जाँदा बजारमा पर्याप्त ‘बफर स्टक’ कायम हुन नसकेको र त्यसको असर पछिल्लो समय उपभोक्ताले भोगिरहेको देखिएको छ । नागरिकको सरकारले जनताका समस्या समाधानका लागि सडकको समस्या हुँदा हेलिकप्टरमार्फत पनि ग्याँस आपूर्ती गरी उपभोक्ताका समस्या समाधान गर्नुपर्ने हो, तर अझै रमिता हेरेर बसेको छ ।
निगमले आर्थिक वर्ष २०८२/८३ का लागि ग्यासको मागमा ११ प्रतिशत वृद्धि हुने अनुमान सामान्य अनुमानका आधारमा गरेको थिएन। अघिल्लो आर्थिक वर्षको मौसमी खपत प्रवृत्तिको अध्ययनलाई आधार बनाएर यस्तो प्रक्षेपण गरिएको थियो। आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ५ लाख ५५ हजार १११ मेट्रिक टन एलपी ग्यास खपत भएको थियो। वर्षभरको मौसमी माग, जाडोमा हुने अतिरिक्त खपत तथा अन्य प्रवृत्तिको विश्लेषणपछि आगामी वर्षका लागि ११ प्रतिशत वृद्धिदरलाई आधार बनाइएको थियो। यस आधारमा २०८२/८३ मा ६ लाख १६ हजार १७३ मेट्रिक टन ग्यास आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो। तर वास्तविक आयात भने ५ लाख २१ हजार ५२९ मेट्रिक टनमा सीमित भयो।
ग्यासको माग जाडोमा स्वाभाविक रूपमा बढ्छ। पानी तताउनेलगायतका घरेलु प्रयोजनका कारण जाडो महिनामा सामान्य अवस्थाभन्दा १५ देखि २० प्रतिशतसम्म माग बढ्ने गर्छ। तर जाडोमा माग बढेअनुसार आयात वृद्धि हुन सकेन। २०८२र८३ को मंसिरदेखि फागुनसम्म अघिल्लो वर्षको तुलनामा आयात वृद्धि नगण्य रह्यो। प्रक्षेपण गरिएको ११ प्रतिशत वृद्धिको तुलनामा यो अवधिमा आपूर्ति करिब ९.८३ प्रतिशत पछाडि रह्यो। यसको प्रत्यक्ष असर बजारमा मौज्दात घट्दै जानुमा परेको निगम स्रोतको भनाइ छ।
आयातको तथ्यांक हेर्दा संकटको सबैभन्दा ठूलो दबाब चैतदेखि असारसम्म देखिन्छ। आर्थिक वर्ष २०८१/८२ को चैतमा ४८ हजार ३२७ मेट्रिक टन ग्यास आयात भएकोमा २०८२/८३ को चैतमा यो घटेर ३८ हजार ८०० मेट्रिक टनमा सीमित भयो। वैशाखमा ४६ हजार ५०३ मेट्रिक टनबाट घटेर ३२ हजार ५६ मेट्रिक टन, जेठमा ४९ हजार ८१६ मेट्रिक टनबाट घटेर करिब ३३ हजार ८४२ मेट्रिक टनमा आयात सीमित भएको तथ्यांकले देखाएको छ । यस अवधिमा मासिक रूपमा ठूलो परिमाणमा आयात घट्दा बजारको आपूर्ति चक्रमा दबाब बढेको देखिन्छ।
ग्यास अभावकै समयमा सरकारले ७।१ केजी अर्थात् आधा सिलिन्डर ग्यास वितरण गर्ने नीति अघि सारेको थियो। व्यवसायीहरूका अनुसार यसले आपूर्ति व्यवस्थापनलाई थप जटिल बनायो। आधा सिलिन्डर भर्न समय बढी लाग्ने तथा तौल व्यवस्थापनमा समस्या आएपछि उद्योगका स्टोरेजमा ग्यास थुप्रिएको र भारतबाट आएका बुलेट लामो समय नेपालमै रोकिएको व्यवसायीहरूको दाबी छ। बुलेट लामो समय रोकिँदा भारतीय ढुवानीकर्ताले अन्यत्र आफ्ना साधन परिचालन गरेको र त्यसपछि ग्यास ढुवानीका साधनकै अभाव देखिएको उनीहरूको भनाइ छ।
ग्यास आयातको परिमाण र सिलिन्डर संख्याबीच देखिएको ठूलो अन्तरले पनि आपूर्ति व्यवस्थापनमाथि प्रश्न उठाएको छ। उदाहरणका रूपमा २०८२.८३ को असारमा ४४ हजार ५४४ मेट्रिक टन ग्यास आयात हुँदा सिलिन्डर संख्या ६२ लाख ७३ हजार ८०३ देखिएको छ। जबकि अघिल्लो वर्षको असारमा ४७ हजार ९३३ मेट्रिक टन ग्यास आयात हुँदा सिलिन्डर संख्या ३३ लाख ७५ हजार ५६३ थियो। यसको मुख्य कारण १४.२ केजीको नियमित सिलिन्डरको सट्टा ७.१ केजीको आधा सिलिन्डर ठूलो संख्यामा बजारमा पठाइनु रहेको निगमको विवरणबाट देखिन्छ। तर आधा सिलिन्डर प्रयोग गर्दा एउटै परिवारले नियमित सिलिन्डरको तुलनामा छिटो पुनः ग्यास लिनुपर्ने अवस्था आउँछ। त्यसले बजारमा सिलिन्डरको संख्या बढाए पनि वास्तविक ग्यासको उपलब्धता पर्याप्त नहुने समस्या सिर्जना गर्न सक्छ।
पछिल्लो समय भने ग्यास आयात क्रमशः बढेको निगमले जनाएको छ। निगमका अनुसार २०८३ वैशाखमा ३२ हजार ५६.४४ मेट्रिक टन, जेठमा ३२ हजार ५४२.२९ मेट्रिक टन, असारमा ४४ हजार ४४.।४० मेट्रिक टन र साउनमा ५० हजार ३९६.३५ मेट्रिक टन ग्यास आयात भएको छ। साउनमा आयात पछिल्लो पाँच महिनाकै उच्च देखिन्छ। निगमका अनुसार उक्त महिनामा ४० लाखभन्दा बढी सिलिन्डर बजारमा पुगेका थिए। तर पछिल्लो केही महिनादेखि थुप्रिएको मागका कारण आपूर्ति बढ्दैमा बजार तत्काल सामान्य अवस्थामा फर्किन कठिन देखिएको छ।
काठमाडौंमा माग दैनिक एक लाख सिलिन्डरभन्दा माथि
सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर खपत हुने गरेकोमा पछिल्लो तीन–चार महिनामा माग बढेर दैनिक एक लाखभन्दा माथि पुगेको निगमको विवरण छ। निगमका अनुसार पछिल्ला पाँच दिनमा मात्रै काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिन्डर बिक्री गरिएको दाबी छ । तर बजारमा ग्यासको अभावले उपभोक्ताले खाना पकाएर खान सकेका पाएका छैनन् । कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगबाट वैकल्पिक बाटो हुँदै सिलिन्डर काठमाडौं ल्याइएको निगमले जनाएको छ। निगमको विवरणअनुसार ती पाँच दिनमा क्रमशः ४८ हजार १०९, ४६ हजार २१८, ५३ हजार ४६९, ४५ हजार २३० र ४० हजार ६३६ सिलिन्डर काठमाडौं ल्याएर बिक्री गरिएको थियो।
ग्यास आपूर्ति व्यवस्थापनमा सरकारमाथि दबाब बढिरहेका बेला तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले राजीनामा दिएकी थिइन्। ग्यास व्यवसायीको व्यवस्थापन र आपूर्ति प्रणालीबारे उनको सार्वजनिक अभिव्यक्तिले समेत विवाद जन्माएको थियो। उनले व्यवसायीलाई कडाइ नगरेसम्म ग्यास आपूर्ति सहज नहुने आशय व्यक्त गरेकी थिइन्। त्यसपछि सरकारले उद्योग मन्त्रालयको जिम्मेवारी दीपक शाहलाई दिएको छ। नवनियुक्त मन्त्री शाहले ग्यास आपूर्ति सहज बनाउने विषयमा छलफल गरेर आवश्यक निर्णय लिने बताएका छन्। तर अहिलेको संकट तत्काल समाधान गर्न नयाँ नेतृत्वसँगै विगतको आयात कमी, मौज्दात व्यवस्थापन र ढुवानी प्रणालीको कमजोरी सम्बोधन गर्नुपर्ने देखिन्छ।
उपभोक्ताले अहिले खाली सिलिन्डर लिएर घण्टौँदेखि दिनौँसम्म लाइन बस्नुपर्ने अवस्था भोगिरहेका छन्। अर्कोतर्फ निगमले पछिल्लो समय आयात बढिरहेको तथ्यांक प्रस्तुत गरिरहेको छ। तर प्रश्न उठ्छ-यदि आयात अहिले बढिरहेको छ भने बजारमा ग्यास किन सहजरुपमा उपलब्ध हुन सकेको छैन् ? उपलब्ध तथ्यांकले संकटको तत्कालीन कारण ढुवानी र वितरणमा देखिए पनि त्यसको पृष्ठभूमिमा आर्थिक वर्ष २०८२/८३ मा आवश्यकताभन्दा ९४ हजार ६४४ मेट्रिक टन कम ग्यास आयात भएको तथ्य महत्वपूर्ण देखाउँछ। आपूर्ति व्यवस्थापनमा गरिएको प्रक्षेपण र वास्तविक आयातबीचको यही ठूलो खाडल अहिले उपभोक्ताको भान्सासम्म आइपुगेको देखिन्छ। सरकारका लागि चुनौती अब विगतको कमजोरीको जिम्मेवारी पहिचान गर्नु मात्र होइन, आगामी दिनमा मागअनुसार पर्याप्त मौज्दात र नियमित आपूर्ति सुनिश्चित गर्नु पनि हो।
बजारमा खाना पकाउने ग्याँसको हाहाकार, व्यावसायी भन्छन् – कृष्णभिरको पहिरोका कारण बजारमा अभाव आयो




