देश

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौँ। प्रतिनिधिसभा सदस्यहरूले बाढी प्रभावितका लागि दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसद यज्ञमणि न्यौपानेले दातृ निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदाममा थन्किएको भन्दै ती सामग्री तत्काल बाढीपीडितसम्म पुर्‍याउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद बोधनारायण श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा पुरिएका निजी भवन, वित्तीय संस्थाका भवन तथा धार्मिकस्थललगायत संरचनामा खोज तथा उद्धार अभियान सञ्चालन गर्न माग गरे ।

सांसद गङ्गादेवी श्रेष्ठले बाढी प्रभावितको उचित पुनःस्थापना तथा पुरिएका घर र अन्य क्षतिको यथार्थ विवरण सङ्कलन गर्न सरकारसँग आग्रह गरिन् । उनले भोटेकोशी नदीको कटान रोक्न आवश्यक संरचना निर्माणको काम तत्काल अघि बढाउनसमेत माग गरिन् ।

सांसद टिकाभद्र हमालले बाढीपीडितलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद यशोदाकुमारी बरालले खाना पकाउने ग्यासको अभावका कारण सर्वसाधारण समस्यामा परेको भन्दै समस्या तत्काल समाधान गर्न माग गरिन् ।

त्यसैगरी, सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावका कारण सर्वसाधारणले उपचार सेवा पाउन नसकेको गुनासो गर्दै आवश्यक जनशक्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका सेवा प्रदायकले सेवा तथा मालसामान उपलब्ध गराए पनि भुक्तानी नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले सेवा प्रदायकको बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *