देश

शिक्षामन्त्री पोखरेलद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण, प्रसूति भएकी पासवानसँग भेट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गरेकी छन् ।

अस्पतालको गेटमै प्रसूति गराउनुपरेकी सप्तरीकी बबिताकुमारी पासवानको अवस्थाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुगेकी हुन् । उनले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् ।

अस्पताल प्रशासनका अनुसार पासवान र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पासवानको बेड नम्बर २२ मा उपचार तथा स्याहार भइरहेको छ ।

निरीक्षणका क्रममा मन्त्री पोखरेलले अस्पतालको सेवा प्रवाह, पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिइन् । उनले अस्पतालको सेवा विस्तार तथा सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवा व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाइन् ।

अस्पतालको सेवा प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र जनशक्ति व्यवस्थापनमा सम्बन्धित निकायसँग समन्वय गर्ने उनको भनाइ थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *