देश

तीजमा पशुपतिनाथ दर्शन सहज बनाउन विशेष तयारी, चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने दर्शनार्थीको चापलाई व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले विशेष तयारी गरेको छ। तीजको दिन मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि नै खुला गरिने भएको छ। कोषका अनुसार भदौ २९ गते परेको हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको छ। दर्शनार्थीको भीडलाई व्यवस्थित गर्न मन्दिरबाहिर पाँचवटा लाइन र परिसरभित्र प्रवेश गरेपछि आठवटा लाइनबाट दर्शन गर्ने व्यवस्था गरिएको छ।

तीजमा महिला दर्शनार्थीको संख्या उल्लेख्य हुने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महिला सुरक्षाकर्मीको संख्या बढाउन कोषले सरकारसँग अनुरोध गरेको छ। मन्दिर परिसरमा हुने भीड व्यवस्थापन तथा दर्शनार्थीको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सुरक्षा प्रबन्ध मिलाइने जनाइएको छ।

यसैगरी, तीजका दिन हुने अत्यधिक सवारी चापलाई ध्यानमा राख्दै पार्किङको छुट्टै व्यवस्था गरिएको छ। विशिष्ट व्यक्तिका सवारीसाधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य दर्शनार्थी तथा सर्वसाधारणका सवारीसाधनका लागि भने भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड क्षेत्रमा पार्किङस्थल तोकिएको कोषले जनाएको छ।

तीजका दिन बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा दर्शनार्थीको ठूलो भीड लाग्ने भएकाले कोषले तोकिएका प्रवेश, लाइन र पार्किङ व्यवस्थाको पालना गर्नसमेत आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *