देश

समाजसेवाबाट राजनीतिसम्म : रामेछापका रामहरी पाण्डे कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिको दौडमा

काठमाडौं । रामेछापको सामाजिक तथा राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका रामहरी पाण्डे नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने तयारीमा छन्। जिल्लाको सुनापाती गाउँपालिका–४ बेथानमा जन्मिएका पाण्डे विद्यार्थी राजनीतिदेखि नै लोकतान्त्रिक आन्दोलन र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। वि.सं. २०३० साल असार १६ गते जन्मिएका पाण्डेको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको हो। विद्यार्थी जीवनमै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय भएका उनी रामेछापमा नेविसंघको जिल्ला संगठन निर्माणका क्रममा जिल्ला कार्यसमितिको सदस्यका रूपमा समेत जिम्मेवारीमा रहेका थिए। त्यसयता उनले पार्टीको राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत निरन्तर सक्रियता देखाउँदै आएका छन्।

पाटन संयुक्त क्याम्पसबाट स्नातक तह (बीए) सम्मको शिक्षा हासिल गरेका पाण्डेले विद्यार्थी राजनीतिमा लामो समय बिताएका थिए। पाटन संयुक्त क्याम्पसमा नेविसंघको तर्फबाट विद्यार्थी नेताका रूपमा सक्रिय रहँदै उनले विद्यार्थीका हकहित, संगठन निर्माण तथा लोकतान्त्रिक गतिविधिमा भूमिका निर्वाह गरेका थिए । नेपालको राजनीतिक परिवर्तनका विभिन्न चरणमा समेत पाण्डेको सक्रिय सहभागिता रहेको छ। वि.सं. २०४६ सालको जनआन्दोलनमा उनी सक्रिय रूपमा सहभागी भएका थिए। बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको उक्त आन्दोलनमा विद्यार्थी तथा राजनीतिक कार्यकर्ताका रूपमा उनले सहभागिता जनाएका थिए।

त्यसैगरी, वि.सं. २०५२ सालमा तत्कालीन एमाले नेतृत्वको सरकारविरुद्ध भएको आन्दोलनमा पनि पाण्डे सक्रिय रूपमा सहभागी भएका थिए। आन्दोलनका क्रममा उनी तीन दिन प्रहरी हिरासतमा समेत परेका थिए। राजनीतिक आन्दोलनका क्रममा गिरफ्तारीमा परे पनि आफ्नो राजनीतिक तथा सामाजिक सक्रियतालाई निरन्तरता दिएको उनका निकटस्थहरू बताउँछन्।

नेपालमा राजनीतिक परिवर्तनका लागि भएको अर्को महत्वपूर्ण आन्दोलन २०६२/०६३ सालको जनआन्दोलनमा पनि पाण्डेले सक्रिय सहभागिता जनाएका थिए। राजतन्त्रको अन्त्य, लोकतन्त्रको पुनःस्थापना र राजनीतिक परिवर्तनका लागि भएको उक्त आन्दोलनमा उनले आफ्नो तहबाट भूमिका निर्वाह गरेका थिए। यसरी हेर्दा पाण्डेको राजनीतिक जीवन विभिन्न लोकतान्त्रिक आन्दोलनसँग जोडिँदै आएको देखिन्छ।

विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा पछिल्लो समय नेपाली कांग्रेसको संगठनात्मक राजनीतिसम्म आइपुगेको छ। कांग्रेसको १४औँ महाधिवेशनमा उनी केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी झिनो मतान्तरले पराजित भएका थिए। सामान्य मतान्तरले प्रतिनिधि बन्न नसके पनि त्यसले आफ्नो राजनीतिक सक्रियतामा कुनै कमी नआएको पाण्डे निकटका कार्यकर्ताहरूको भनाइ छ।

अब भने उनी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रामेछापबाट महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिने तयारीमा छन्। लामो समयदेखि जिल्लाको संगठन, सामाजिक गतिविधि र राजनीतिक अभियानमा संलग्न रहेको आधारमा आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढाउन चाहेको पाण्डेको धारणा रहेको छ।

पाण्डेको परिचय केवल पार्टी राजनीतिमा सीमित छैन। रामेछापमा उनी लामो समयदेखि विभिन्न सामाजिक तथा समाजसेवाका गतिविधिमा सक्रिय व्यक्तिका रूपमा परिचित छन्। स्थानीयस्तरमा सामाजिक काममा सहभागिता जनाउँदै आएका कारण उनलाई जिल्लामा समाजसेवीका रूपमा समेत चिनिने गरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *