नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला नुवाकोटमा संस्थापनइतर पक्षले छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको छ।
संस्थापनइतर पक्षले विदुर नगरपालिका–४ बट्टारमा सम्पर्क कार्यालय स्थापना गरेको हो। कार्यालय स्थापना गरिएको जानकारी कांग्रेस नुवाकोटका जिल्ला सचिव तथा संस्थापनइतर पक्षका नेता श्रीराम श्रेष्ठले दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनका लागि संस्थापन र संस्थापनइतर पक्षले फरक–फरक कार्यतालिका अघि सारेपछि दुवै पक्ष आ–आफ्नो तयारीमा जुटेका छन्। संस्थापनइतर पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ भने संस्थापन पक्षले असोज ३ गते वडा अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
यद्यपि, नुवाकोटमा वडा अधिवेशनको मिति भने अझै निश्चित भइनसकेको कांग्रेसका नेताहरूले बताएका छन्। केन्द्रमा दुई पक्षबीच फरक कार्यतालिका सार्वजनिक भएसँगै जिल्लामा पनि दुवै पक्षले आफ्नो तयारी अघि बढाएका हुन्।
नुवाकोटमा संस्थापनइतर पक्षको केन्द्रीय नेतृत्वमा डा. प्रकाशशरण महत रहेका छन्। जिल्लामा क्षेत्र नं. २ मा ध्रुव अधिकारी, श्रीराम श्रेष्ठ र विन्दा अर्याल तथा क्षेत्र नं. १ मा अर्जुन न्यौपाने, धु्रव श्रेष्ठ र कल्पना नेपालीलगायतका नेताहरू सक्रिय देखिएका छन्।
संस्थापनइतर पक्षका जिल्ला सचिव श्रेष्ठका अनुसार नुवाकोटका ठूलो संख्यामा जिल्ला तहका नेता तथा कार्यकर्ताले असोज १५ गते हुने भनिएको वडा अधिवेशनमा सहभागी हुने जानकारी गराएका छन्।
सम्पर्क कार्यालय स्थापनासँगै वडा तहसम्म संगठनात्मक गतिविधि विस्तार गर्नुका साथै अधिवेशनको तयारीलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको श्रेष्ठले बताए।




