काठमाडौँ ।भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि १५ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा नयाँ ट्र्याक निर्माणको काम तीव्र पारिएको छ ।
भदौ १४ गते त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा कृष्णभीरमा करिब एक सय मिटर सडक भासिएको थियो ।अहिले भासिएको स्थानभन्दा माथिबाट करिब दुई सय ५० मिटर नयाँ ट्र्याक खोल्ने काम पूरा भएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीका अनुसार नयाँ ट्र्याकमा ग्राभेल हाल्ने र रोलिङ गर्ने काम सुरु गरिएको छ । उहाँले तीनदेखि चार दिनभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताए ।
नयाँ ट्र्याकमा ग्राभेल हालेर तहगत रूपमा रोलिङ गर्नुपर्ने भएकाले केही समय लाग्ने भन्दै उनले भदौ मसान्तभित्रै यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
कृष्णभीरमा सडक अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ । हेटौँडा हुँदै काठमाडौँ आउने सडकमा सवारी चाप बढ्दा आवागमनसमेत असहज बनेको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौँ–धादिङ हुँदै चितवन, तनहुँ, कास्की लगायत पश्चिम नेपालतर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका छन् ।




