हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोर बजारनजिक त्रिभुवनराजपथको सडक भासिएपछि यातायात प्रभावित भएको छ। सोमबार बिहान ९ः४० बजे सडकको तल्लो भाग भासिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सडक भासिएपछि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार घटनालगत्तै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले सडक विभागसँग समन्वय गरी भासिएको स्थानमा अस्थायी ट्रयाक निर्माण गरेर यातायातलाई सहज बनाउने पहल गरिरहेको जनाएको छ।
यसअघि पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर क्षेत्रमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछि काठमाडौं जाने मालवाहक सवारीसाधनलाई त्रिभुवनराजपथ र फर्कने सवारीसाधनलाई कान्ति लोकपथ प्रयोग गर्न भनिएको थियो।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण कृष्णभिरमा पृथ्वी राजमार्ग भासिएपछि अवरुद्ध सडक १०औँ दिनमा आइतबार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको थियो। भासिएको सडकलाई नजिकैको भिरतर्फ डाइभर्सन गरी पुनःस्थापना गरेपछि राजमार्ग सञ्चालनमा ल्याइएको थियो।
त्रिभुवनराजपथमा पछिल्लो समय सवारीसाधनको चाप बढेकाले सडक भासिएको हुन सक्ने स्थानीय शम्भु अधिकारीले बताएका छन्। प्रहरीले त्रिभुवनराजपथ भएर यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।




