प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला भाइरसको सङ्क्रमण नयाँ प्रान्तमा फैलिएको छ । उत्तरपश्चिमी सुद–उबाङ्गी प्रान्तमा एक जनामा इबोला सङ्क्रमण पुष्टि भएपछि स्थानीय अधिकारीहरूले बिहीबार प्रान्तमा प्रकोप घोषणा गरेका छन् ।
सुद–उबाङ्गीका कार्यवाहक गभर्नर जीन–रेने गालेक्वा वुन्डावेले विज्ञप्तिमार्फत प्रयोगशाला परीक्षणबाट नमूनामा बुन्डिबुग्यो इबोला भाइरस पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार अधिकारीहरूले सङ्क्रमणको निगरानी बढाउनुका साथै बिरामीको उपचार र सङ्क्रमणको श्रृङ्खला रोक्ने प्रयासलाई तीव्रता दिएका छन् ।
सुद–उबाङ्गी यसअघि इबोला सङ्क्रमण पुष्टि भएका इटुरी, उत्तरी किभु, दक्षिणी किभु, हाउट–उले, त्सोपो र बास–उले गरी छवटै प्रान्तसँग सीमा जोडिएको छैन । सङ्क्रमणको स्रोत वा यसअघि देखिएको इबोला प्रकोपसँग यसको कुनै ज्ञात महामारीशास्त्रीय सम्बन्धबारे अधिकारीहरूले जानकारी सार्वजनिक गरेका छैनन् ।
पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार सेप्टेम्बर ८ सम्म डीआरसीमा इबोलाका छ हजार आठ सय ४३ पुष्टि भएका घटना देखिएका छन् । तीमध्ये तीन हजार तीन सय १० जनाको मृत्यु भएको छ भने एक हजार छ सय ११ जना निको भएका छन् । इबोलाका कारण मृत्यु हुने दर ४८ दशमलव ४ प्रतिशत रहेको छ ।
मे महिनामा घोषणा गरिएको हालको इबोला प्रकोप डीआरसीमा अहिलेसम्मकै सबैभन्दा ठूलो र घातक मानिएको छ । यो सन् २०१४–२०१६ को पश्चिम अफ्रिकी इबोला महामारीपछि विश्वमै दोस्रो ठूलो प्रकोप भएको अधिकारीहरूले बताएका छन् ।




