देश

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *