देश

कृष्णभीरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी गुड्न थाले, असोज १ देखि नियमित सञ्चालनको तयारी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा १२ दिनपछि परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सडकलाई सबग्रेड तहसम्म तयार पारिएपछि रोकिएका ग्यास बुलेट तथा हेभी सवारीसाधनलाई परीक्षणस्वरूप कृष्णभीर हुँदै पार गराइएको हो।

निर्माणको जिम्मेवारी पाएको सगुन कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष सहदेव खड्काका अनुसार करिब १२ दिनको निरन्तर प्रयासपछि सडकबाट सवारीसाधन पार गराउन सकिने अवस्था बनेको हो। काठमाडौँबाट मुग्लिङतर्फ पहिलो ग्यास बुलेट पठाइएपछि रोकिएका हेभी इक्युपमेन्ट र अन्य सवारीसाधनलाई पनि क्रमशः पार गराइएको उनले जानकारी दिए। सडक खुलाउन एक्स्काभेटर, बुलडोजर, लोडरलगायतका हेभी उपकरण परिचालन गरिएको थियो। सडक विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीबीचको समन्वयमा निर्माण तथा सडक खुलाउने काम अघि बढाइएको खड्काले बताए।

हाल फिल्डमा करिब २२ देखि २५ वटा हेभी उपकरण, ट्रक तथा टिपरसहितका साधन परिचालन गरिएको छ। सडक विभाग, कन्सल्टेन्ट र निर्माण कम्पनीका ३० जनाभन्दा बढी प्राविधिकसमेत निर्माणस्थलमा खटिएका छन्।

कृष्णभीरमा एकतर्फी यातायात सञ्चालन गरिए पनि सडक पूर्ण रूपमा नियमित सञ्चालनमा आएको भने होइन। परीक्षणका क्रममा सवारीसाधन पार गराएपछि सडक पुनः बन्द गरेर बाँकी निर्माणको काम अघि बढाइने भएको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिलेको आवागमन नियमित यातायात सञ्चालनका लागि नभई सडकको क्षमता परीक्षण गर्न गरिएको हो। सडक सबग्रेड तहसम्म तयार भएपछि ग्यास बुलेट पार गर्न सक्ने अवस्था छ कि छैन भनेर परीक्षण गरिएको र ग्यास बुलेट सफलतापूर्वक पार भएको उनले बताइन्। लामो समयदेखि रोकिएका ट्रक, टिपरलगायतका सवारीसाधनलाई समेत यही क्रममा पार गराइएको अधिकारीको भनाइ छ।

अब सडक पुनः बन्द गरेर ड्रेन निर्माण, ग्राभेलिङ तथा केही भागमा कटिङलगायतका बाँकी काम अघि बढाइनेछ। सडकमा ड्रेन, सब–सर्फेस ड्रेन, ग्राभेलिङ तथा सबग्रेड र सबबेसको केही काम अझै पूरा गर्न बाँकी रहेको अधिकारीले जानकारी दिइन्। उनका अनुसार बाँकी निर्माण दुईदेखि तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

असोज १ देखि नियमित यातायात सञ्चालन गर्ने लक्ष्य

निर्माण कम्पनीले मौसमले साथ दिएमा बाँकी काम छिटो सम्पन्न गरी असोज १ गतेदेखि कृष्णभीरमा नियमित रूपमा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको छ। निर्माण व्यवसायी खड्काका अनुसार सबग्रेड, सबबेस र ड्रेनलगायतका आवश्यक काम पूरा भएपछि सडक नियमित आवागमनका लागि खोलिनेछ। कृष्णभीरमा सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने लामो दूरीका सवारीसाधनसँगै ग्यास बुलेट, निर्माण सामग्री बोकेका ट्रक तथा हेभी सवारीसाधनसमेत लामो समयदेखि रोकिएका थिए।

परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन भएसँगै रोकिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन सहज भएको छ। यद्यपि सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यात्रुले वैकल्पिक मार्ग, ट्राफिक निर्देशन तथा सडक निर्माणको अवस्थालाई ध्यानमा राखेर यात्रा गर्नुपर्ने अवस्था कायमै छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *